
नेपालमा लगातार तीन वटा हिउँद सुक्खा भएका छन् । यस वर्ष हिउँद अर्थात् मङ्सिर मध्यदेखि फागुन मध्यसम्ममा औसतको झण्डै २४ प्रतिशत मात्रै पानी पर्यो ।
हिउँदयामका तीन महिनामा औसत वर्षा ६० दशमलव १ मिलिमिटर हुनुपर्नेमा यस वर्ष १४ दशमलव २ मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसमा पनि झन्डै ४ मिलिमिटर वर्षा हिउँदयाम सकिने अघिल्ला दुई दिन परेको हो ।
अघिल्लो वर्षको हिउँदमा १३ दशमलव १ मिलिमिटर र २०७९ सालमा १२ दशमलव ९ मिलिमिटर मात्रै वर्षा भएको थियो । २०७८ सालमा भने औसतभन्दा धेरै अर्थात् ९७ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । पछिल्ला १५ वर्षको तथ्याङ्क हेर्दा ९ वर्षको हिउँदमा औसतभन्दा कम र ६ वर्षको हिउँदमा औसतभन्दा धेरै पानी परेको थियो ।
यस वर्षको हिउँदमा देशभरको औसतमा झन्डै २४ प्रतिशत पानी परे पनि मुख्य २० वटा स्टेशनको तथ्याङ्क अनुसार भैरहवा, सिमरा, काठमाण्डौ, धनकुटा र दाङको घोराहीमा खडेरीको अवस्था देखिएको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिनुभयो ।
हिउँदमा पर्याप्त वर्षा नहुँदा गहुँ, जौ, तोरीलगायतका हिउँदे बालीको उत्पादन घट्छ । यस्तै जलविद्युत् उत्पादनसँगै अरू प्रकोपहरू पनि बढ्ने विज्ञहरू बताउँछन् । पानीका मूल सुक्ने, जमिनमुनिको पानीको सतह घट्नेजस्ता समस्यासँगै वनडढेलो र वायु प्रदूषणको समस्यासमेत बढाउने जलवायु विपद् विज्ञ डा। धर्मराज उप्रेतीले बताउनुभयो । जलवायु परिवर्तनका कारण वर्षाको आवृत्तिमा धेरै परिवर्तन आउन थालेकाले सिँचाइ प्रणाली सुधार, जलस्रोत संरक्षण, वनडढेलो र वायु प्रदूषण रोक्न पूर्वसावधानीहरू अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।