
वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिने भन्दै ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ घर भई काठमाण्डौको बसुन्धरा बस्ने ४१ वर्षीय टंकप्रसाद सुवेदी र उनकी श्रीमती ४४ वर्षीया निता रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूले बुल्गेरिया पठाइदिने भन्दै तीन जनाबाट पाँच लाख ४० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए । सुवेदी दम्पतीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाउने भन्दै ठगी गरेका थिए ।
उनीहरूलाई बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो ।