
काठमाडौं । आगामी वैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्रको छपाइ हुने भएको छ । मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सबै प्रदेशका यातायातमन्त्रीसहितको विषयगत बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले यातायात व्यवस्था विभागबाट हालसम्म छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्रको छपाइ गर्ने र ०८२ वैशाख १ गतेदेखि साउन १ गतेसम्म सबै प्रदेशले स्वीकृत ढाँचाबमोजिम सवारी चालक अनुमतिपत्रको छपाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको हो ।
यसका लागि आवश्यक प्राविधिक सहायता विभागले उपलब्ध गराउने भएको छ । राइड सेयरिङलाई व्यवस्थित गर्न र प्रदेशबीच नीतिगत एकरूपता कायम गर्न प्रदेश सरकारको सहभागितामा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्बन्धित प्रदेशले लागु गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायातका विभिन्न सेवालाई राष्ट्रिय परिचयपत्रसँग जोड्न सकिए बायोमेट्रिकका देखिएको समस्या समाधान हुनसक्ने बताए । उनले अझै पनि १९ लाख सवारी चालक अनुमतिपत्र छपाइ गर्न बाँकी रहेको अवस्थामा प्रदेशबाट छपाइ सुरु गर्न सके सहज रूपमा वितरण गर्न सकिने बताए ।
त्यस्तै, बैठकले सवारीसाधनको दर्ता र नामसारी गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्थाका लागि प्रदेश सरकारबाट मातहतका कार्यालयलाई आवश्यक निर्देशन दिने र विभागले आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।