
शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव शून्य चार अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ९२ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तको शेयर झन्डै १० प्रतिशत र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनीको शेयर झन्डै साढे नौ प्रतिशतले बढेको छ ।
आज ३५ लाख ६२ हजार कित्ता शेयर एक अर्ब १० करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको चार करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।