
शेयर बजार आज बुधवार सामान्य बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६० अङ्कले बढेर १ हजार ९ सय ८८ दशमलव ०४ विन्दुमा पुगेको छ ।
आज होटल तथा पर्यटन, बीमा र व्यापारबाहेक अरू समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज बोटलर्स नेपालको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कुथेरी बुखारी हाइड्रोपावरको शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज १ करोड २० लाख कित्ता शेयर ३ अर्ब ९० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १४ करोड ६७ लाख रुपैयाँको शेयर किनबेच भयो ।