
संयुक्त राष्ट्रसंघ — संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा ४० लाख बालबालिकामा कुपोषणको समस्या रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय एक प्रतिवेदनमा सुडानका महिला र बालबालिका गरी कम्तीमा पनि ४० लाखमा यस्तो समस्या रहेको पाइएको बताइएको छ ।
सो प्रतिवेदनमा सन् २०२३ सम्ममा सुडानका पाँच वर्षमुनिका बालबालिका र गर्भवतीमा यस्तो समस्या रहेको र उनीहरुलाई सहयोगको आवश्यकता रहेको बताइएको हो । तीमध्ये ६ लाख ११ हजार जना बालबालिका चरम कुपोषणमा रहेका संयुक्त राष्ट्रसंघीय अधिकारीले जनाएका छन् ।
केही समयदेखि आन्तरिक राजनीतिक समस्यामा फसेको सुडानमा धेरै समयदेखि आर्थिक समस्या देखिँदै आएको छ । जसका कारण यहाँका नागरिक समस्यामा परेका छन् ।
खडेरी, आर्थिक मन्दी, खाद्य असुरक्षा आदिका कारण यहाँका लाखौं लाख नागरिक विस्थापित भएर बसेका छन् । विस्थापित भएका अरू दशौं लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको पनि बताइएको छ । संयुक्त राष्ट्रसंघले यहाँ मानवीय सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि यसबाट पर्याप्त नरहेको पाइएको समाचार जनाइएको छ । रासस/सिन्हृवा ।