
काठमाडौं।उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले आगामी एक दशकमा २५ हजार मेगावाट उर्जा उत्पादन गर्ने गरी उर्जा विकासको ‘रोडम्याप एक्सन प्लान’ बनाउन लागेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले पूर्वाधारको अवस्था, उत्पादन क्षमता, सम्भावना र स्रोतको यकिन गरेरै एक दशकभित्र २५ हजारको उर्जा क्षमता विकास गर्ने गरी रोडम्याप तय गर्ने लागिएको बताए ।
‘आगामी उर्जा विकासको रोडम्याप र एक्सन प्लान बनाउँदै छौँ, त्यो रोडम्याप र एक्सन प्लानमा २५ हजार सेरोफेरोमा टार्गेट निश्चित गर्न खोजिराखेका छौँ, त्यो टार्गेट मात्र निश्चित गर्ने होइन, २५ हजार उर्जा उत्पादन गर्ने आयोजना कुन कुन हुन हामी त्यसको चेकलिस्ट तयार गर्छौं,’ उनले भने, ‘त्यो २५ हजारको भारवहन गर्न सक्ने हाम्रो ट्रान्समिसन पूर्वाधारको अवस्थाको बारेमा पनि हामी ध्यान दिन्छौँ, र त्यसको यो यो ट्रान्समिसन लाइनले त्यो व्यवस्थापन गर्छ भनेर भन्छौँ ।’
त्यस्तै, उनले आन्तरिक खपतका लागि १२ हजार क्षमता उर्जा खपत हुने पूर्वाधारको व्यवस्थापनबारे पनि सोच्नु पर्ने अवस्था आएकाले लगानी मैत्री वातावरण तयार पार्नु पर्ने बताए ।
‘हामीले आन्तरिक उर्जा खपतको ११–१२ हजारको कुरा गरिराख्दा हाम्रो सिस्टमले त्यो १२ हजारको टार्गेटलाई मिट गर्न सक्ने सिस्टम, ट्रान्सफर्मरहरूदेखि लिएर सबै व्यवस्थापनबारे सोच्नु पर्ने छ, यो सबै गर्नको लागि लगानी मैत्री वातावरण तयार गर्नु पर्ने छ,’ उनले भने ।