
काठमाडौँ । बेइजिङको एक अस्पतालमा भएको भीषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ । चांगफेंग अस्पतालमा भएको सो भीषण आगलागीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।
प्रहरीले आगलागी कसरी भयो ? सो बारेमा अहिलेसम्म विस्तृत जानकारी बाहिर दिएको छैन । सो घटनाका बारेमा गम्भीर रूपमा अनुसन्धान भने गरिरहेको प्रहरीले जनाएको छ ।
न्युयोर्क टाइम्सका अनुसार अस्पतालमा आगलागी सुरु भए पछि कोही झ्यालमा त कोही एसीमाथि बसेर उद्धारका आशा गरिरहेका दृश्यले अवस्था निकै भावुक बनाएको थियो । उनीहरू उद्धारका प्रतीक्षामा रोइकराई गरिरहेका थिए भने कोही माथिल्लो तल्लाबाट हाम फालिरहेका थिए ।