
धनुषा। मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाममा ‘महामूर्ख’ बन्नका लागि प्रतिस्पर्धा चलेको छ। मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्ने दुई दिवसीय होली महोत्सवको मुख्य आकर्षण ‘महामूर्ख सम्मेलन’ मा यो वर्ष कसले उपाधि जित्ने भन्ने चर्चा चुलिएको छ।
होली पर्वको अवसरमा आयोजना हुने यस सम्मेलनमा समाजका विभिन्न क्षेत्रका अगुवाहरूलाई व्यङ्ग्यात्मक उपाधि प्रदान गरिन्छ। जसमध्ये ‘महामूर्ख’ को उपाधि विशेष महत्त्व राख्छ। यस वर्ष मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहित विभिन्न सांसद र सामाजिक अभियन्ताहरूको नाम चर्चामा रहेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिएका छन्।
मिनापले विगत २९–३० वर्षदेखि आयोजना गर्दै आएको यस महोत्सवले मिथिलाको लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने र मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्य राखेको छ। महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता र दोस्रो दिन ‘महामूर्ख सम्मेलन’ आयोजना गरिन्छ।
‘महामूर्ख’ को उपाधि कसरी छनोट हुन्छ भन्ने विषयमा धेरैको चासो रहेको छ। यसका लागि मिनापले एउटा समिति गठन गर्छ, जसले विभिन्न मापदण्डका आधारमा व्यक्तिको छनोट गर्छ। यस उपाधिका लागि केही व्यक्तिहरूले आफैँ पनि इच्छा देखाउने गरेको आयोजकहरू बताउँछन्।
जनकपुरधाममा ‘महामूर्ख सम्मेलन’ को इतिहास वीरगन्जबाट सुरू भएको हो। मैथिली साहित्य परिषद् वीरगन्जले २०५० सालमा पहिलो पटक यो सम्मेलन आयोजना गरेको थियो। जनकपुरधाममा भने २०६१ सालदेखि यो सम्मेलन आयोजना हुन थालेको हो।
यस वर्षको ‘महामूर्ख’ को उपाधि कसले पाउने हो, त्यो भने आज हुने सम्मेलनमा नै घोषणा गरिने मिनापले जनाएको छ।