
काठमाडौं : देशभर भोलि (वैशाख) १ गतेदेखि नयाँ भर्ना अभियान सुरू हुने भएको छ।
नयाँ भर्ना अभियान दुई हप्तासम्म सञ्चालन हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीले जानकारी दिए।
सरकारले नयाँ शैक्षिक सत्रको भर्ना अभियानका लागि नयाँ नारा ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ सार्वजनिक गरिसकेको छ। वैशाख १ गते सुरू भई चैत मसान्तसम्म शैक्षिक सत्र कायम भएको छ।
विकास केन्द्रले शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना सञ्चालन गर्ने व्यवस्था मिलाउन, भर्ना हुन आउने बालबालिकालाई तत्काल भर्ना गरी स्वागत गर्ने र नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराउन सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई र विद्यालयहरूलाई निर्देशन दिइसकेको छ।
विकास केन्द्रले आफ्नो क्षेत्रभित्र विद्यालय उमेरका शतप्रतिशत बालबालिका समयमै विद्यालय भर्ना गराई भर्ना सकिएलगत्तै बालबालिका विद्यालयबाहिर नभएको स्वघोषणा गर्न पनि भनेको छ।