समाचार
पाथीभरामा केबलकार निर्माणविरुद्ध झापामा प्रदर्शनः प्रहरीले हान्यो अश्रुग्यास, तीनजना पक्राउ

झापा। ताप्लेजुङस्थित मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिको बन्दको पूर्वी नेपालमा आंशिक प्रभाव परेको छ ।
बन्दका क्रममा झापामा तनाव भएको छ। ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा संघर्ष समितिले आइतबार र सोमबार झापासहित पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको थियो ।
आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन नेतृत्वको समूहसँग प्रहरीको झडप भएको हो ।
करिब सय हाराहारीका नेता–कार्यकर्ताले टायर बालेर सडक अवरोध गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा ढुंगा हानेका थिए । त्यसपछि प्रहरीले अश्रुग्यासको सेल हानेको हो ।
प्रदर्शनकारीले ढुंगा हान्दा मे १ च ५१६१ नम्बरको स्कोरपियोसहित केही गाडी फुटेका छन् । इलाका प्रहरी कार्यालय दमकले केही बन्दकर्तालाई पक्राउ गरेको छ । बन्दकर्ता पक्राउ परेपछि अन्यले प्रदर्शन चर्काउँदा स्थिति तनावपूर्ण भएर झडपको अवस्था निम्तिएको हो । झडपका क्रममा अवस्था नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास हानेको छ ।
दमक नगरपालिका–६ स्थित आकाशे पुलमा भेला भएर बन्द गराउँदै हिँडने तीनजनालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो ।
समितिले ताप्लेजुङ,पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा बन्द आह्वान गरेको छ । बन्दकर्ताले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द कायमै राखेका छन् ।
यसले जनजीवन प्रभावित भएको छ। पाथीभरा क्षेत्रमा केबलकार निर्माणकोमा प्रदर्शनमा उत्रिएका मुक्कुम्लुङ संरक्षण संर्घष समिति र प्रहरीबीच गत माघ १२ गते झडप हुँदा २४ जना बढी घाइते भएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए ।