
तनहुँ। पृथ्वीराज मार्गको दमौली–डुम्रे खण्डको अवरोध तत्काल नहट्ने भएको छ । अविरल वर्षाले गर्दा तनहुँको व्यास नगरपालिका–१२ घाँसी कुवा बुधवार खसेको पहिरो हटाउन समय लाग्ने भएकोले वैकल्पिक दुई वटा मार्गको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायद्वारा बिहीबार जारी जारी विज्ञप्तिमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा पहिरो गई सडक पूर्ण रूपमा अवरुद्ध भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो । साना तथा मझौला सवारी साधनको लागि दमौली–घाँसी कुवा मार्ग अन्तर्गत ताल घरे, दरै पँधेरा हुँदै घाँसी कुवा, घाँसी कुवा हुँदै दमौलीको लागि घाँसी कुवा, पोल्याङ, रानीगाउँहुँदै ताल घरे प्रयोग गर्न आग्रह गरिएको छ ।
हेभि सवारी साधनको लागि वैकल्पिक मार्गको रूपमा डुम्रे–वेशीशहर लमजुङ खण्ड सडक हुँदै पोखरा जाने मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । बुधवार घाँसी कुवामा ठुलो पहिरो खसेको र खस्ने क्रम जारी रहेकोले अवरोध हटाउने काम सुरु गर्न नसकिएको तर बिहीबार बिहानबाट दुवैतिरबाट पहिरो पन्छाउने काम भइरहेको प्रनाउ रायले जानकारी दिए । पहिरोमा मानवीय क्षति भएको र नभएको बारेमा यकिन भई नसकेको कसैले पनि हराएको पनि खबर नगरेको रायले बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले घाँसीकुमा ठुलो पहिरो गएकोले हटाउन दुई दिन लाग्ने देखिएको जानकारी दिए । पहिरोको स्थलगत निरीक्षण गर्नु भएका नगर प्रमुख न्यौपानेले भन्नुभयो पाँच सय मिटर माथिबाट ठुलो पहिरो खसेकोले तत्काल पहिरो हटाउन नसक्ने अवस्थामा रहेको बताए । नगरप्रमुख न्यौपानेले भन्नुभयो, पूर्ण रूपमा पहिरो पन्छाउन दुई दिन लाग्ने देखिएको छ ।’ घाँसी कुवाको पहिरोमा परि सोममाया गुरुङको बन्दै गरेको घरमा क्षति पुगेको प्रनाउ रायले जानकारी दिए । पहिरोले बिजुलीको पोलमा क्षति पुगेकोले सो क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो खसेपछि यस राजमार्गमा यात्रा गर्नेले सास्ती भोग्नु परेको छ । पहिरो हटाउने काम मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाले गरिरहेको प्रहरीले जनाएको छ ।