
काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरूबीच पटक-पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो ।
सहमतिअनुसार सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् । दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।
मंगलबार बिहान नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिनेछन् । एमालेबाट सरकारमा आठ मन्त्री छन् । कांग्रेस र एमालेबीच सहमति जुटाउन सक्रिय दोस्रो तहका एक नेताका अनुसार एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पनि राजीनामा आउने दुई दलको विश्वास छ ।