जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • ‘सम्मानित धारा’ मा थोपो चुहिन्न पानी

‘सम्मानित धारा’ मा थोपो चुहिन्न पानी

मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरिएको धारा लामो समयदेखि प्रयोगविहीन छ।

राजधानीवासीको दशकौँदेखि प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौँमा आइपुगेको ऐतिहासिक अवसरमा भृकुटीमण्डपमा निर्माण गरिएका तीनवटा ढुंगेधारा खोलेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेकी थिइन्।

भृकुटीमण्डप आउने आगन्तुकले निःशुल्क रूपमा पानी खान पाउने गरी ती ढुङ्गेधाराको उद्घाटन गरिएको थियो। २४ घण्टा नै पानी आउने गरी उद्घाटन गरिएका ती धारामा अहिले पानीको थोपो चुहिन्न। एउटा धाराको त टुटीसमेत हराइसकेको छ। धारा जडान गरिएको ठाउँलाई जस्तापाताले छेकेर साँघुरो पारिएको छ। त्यहाँ लामो समयदेखि पानी नआएको स्पष्टै देखिन्छ।

सहरी खानेपानी तथा सरसफाइ आयोजनाका निर्देशक राजेन्द्रप्रसाद सापकोटाले भृकुटीमण्डपमा जडान भएको धाराको पानीको बिल भुक्तानी कसले गर्ने र ती धाराबाट विसर्जन हुने पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय यकिन हुन नसक्दा त्यहाँ पानीको आपूर्ति हुन नसकेको बताए।

‘भृकुटीमण्डपको धारामा मात्र पानी छोडेर भएन। कसका नाममा खानेपानीको मिटर राख्ने भन्ने विषय अझै टुङ्गो लाग्न बाँकी नै छ। त्यस कारण त्यहाँ पानीको आपूर्ति हुन नसकेको हो’, उनले भने, ‘पानी दिएर मात्र भएन। पानीको आपूर्ति गरेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पैसा त लिन्छ नै।’

भृकुटीमण्डपको धारा कसको नाममा जडान गर्ने? त्यसको बिल भुक्तानी कसले गर्ने? यी विषय टुङ्गो नलागेसम्म त्यहाँ पानीको आपूर्ति पुनः शुरु हुन नसक्ने निर्देशक सापकोटाले बताए। गोरखापत्र दैनिकमा समाचार छ

 

धेरै टिप्पणी गरिएका