
काठमाडौं। अमेरिकामा मङ्गलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका छन्। ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए।
एपीका अनुसार रिपब्लिकन उम्मेदवार ट्रम्पले कम्तीमा २ सय ७७ इलेक्टोरल मत पाउने निश्चित भएको हो। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ। डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति ह्यारिसले कम्तीमा २ सय २४ इलेक्टोरल मत प्राप्त गर्ने निश्चित भएको छ।
अमेरिकाका ५० राज्यका लागि जनसङ्ख्याका आधारमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ। ट्रम्पले यसपटकको चुनावमा निर्णायक ठानिएका सातवटै ‘स्विङ स्टेट्स’हरू पेन्सिल्भेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा क्लिन स्वीप गर्ने देखिएको छ।
अमेरिकाका ५० राज्यमध्ये धेरै जसो राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ । दुईमध्ये जुनसुकै उम्मेदवार विजयी हुनसक्ने राज्यलाई ‘स्विङ स्टेट्स’ भनिन्छ ।
यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ।