
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म रोजगारीका लागि करिब पौने ५ लाख नेपाली विदेशिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ८ महिनामा नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको हो।
फागुनसम्म नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको श्रमिकको संख्या २ लाख ८६ हजार ९३२ पुगेको विभागको तथ्यांकले देखाएको छ। पुनः श्रम स्वीकृति लिएर विदेशिनेको संख्या १ लाख ८४ हजार २८८ जना छ।
गत फागुनमा मात्रै ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन्। सबैभन्दा बढी नेपाली कामको सिलसिलामा यूएई पुगेका छन्। फागुन महिनामा यूएईमा १८ हजार ७०७ पुगेका हुन्।
त्यसैगरी फागुनमा कामका लागि साउदीमा १३ हजार २६७, कतारमा ११ हजार ३९०, मलेसियामा ८ हजार ७१४, कुवेतमा ३ हजार २०६, रोमानियामा १ हजार ७८४ जना, जापानमा १ हजार ३६० जना, बहराइनमा ९२८, क्रोएसियामा ९१५, मोरिससमा ८५९, दक्षिण कोरियामा ७७०, साइप्रसमा ५७७ र अमोनमा ५३३ जना पुगेका छन्।