
कञ्चनपुर। कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ । नगरपालिकाका नौवटै वडामा पाँच/पाँच किलोमिटरका दरले सडक स्तरोन्नति गर्न थालेको हो ।
पहिलोचरणमा वडा नम्बर ४ को मालुवेलाबाट काम सुरु भएको छ । नगरपालिकामा उपलब्ध टिपर, लोडर, ट्र्याक्टर, रोलर प्रयोग गरी सडक स्तरोन्नति प्रारम्भ भएको नगर प्रमुख हेमराज ओझाले बताए ।
सडक स्तरोन्नतिका लागि ५० लाख बजेट विनियोजन भएको छ । ‘उपभोक्ता समितिमार्फत एक किलोमिटर सडक स्तरोन्नति गर्न १० लाख खर्च हुने देखियो’, नगर प्रमुख ओझाले भने । नगरपालिकाले आफ्नै साधन स्रोत प्रयोग गरी सडक स्तरोन्नति गर्दा नगरवासीले अपनत्व ग्रहण गरेका छन् ।
गत वर्ष नगरपालिकाले २५ किलोमिटर सडक स्तरोन्नतिको गरेको थियो । चालु आवमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त १२ करोडको लागत साझेदारीमा नगरपालिका क्षेत्रमा सडक कालोपत्र भइरहेको छ ।