
काठमाडौं । विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा सरकारको विरोध गर्ने निर्णय गरेका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सदन र सडकबाट सरकारको निर्णयको विरोध गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले विपक्षी दलहरूको बैठकले अलोकतान्त्रिकरूपमा विधि मिचेर सरकारले घिसिङलाई हटाएको निष्कर्ष निकालेको जानकारी दिए । सरकारले घिसिङलाई दुईतिहाइको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलहरूको आरोप छ ।
“नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अलोकतान्त्रिक तरिकाले, दुईतिहाइको दम्भका साथ पार्टीहरूको सरकारले गलहत्याउने काम गरेको छ । अनुशासन, विधिभन्दा माथि गएर शक्ति प्रयोग गरेर हटायो । त्यस निर्णयविरुद्ध सदनमा आवाज उठाउनेछौँ । सदनमा प्रश्न गर्ने र त्यस कार्यको विरोध गर्नेछौँ,” परियारले भने ।