जोडिनुहोस
  • होमपेज
  • बर्दीसहित भारतीय सुरक्षाकर्मी नेपाल छिरेपछि पर्सामा तनाव

बर्दीसहित भारतीय सुरक्षाकर्मी नेपाल छिरेपछि पर्सामा तनाव

काठमाडौँ । पर्साको धोबिनी क्षेत्रमा बर्दीसहित भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको घटनाले सीमावर्ती क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ। शुक्रबार भारतीय प्रहरीको गाडीमै आएका सुरक्षाकर्मीलाई स्थानीय बासिन्दाले रोकेका थिए।

धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानका अनुसार सीमावर्ती क्षेत्रमा खटिएको भारतीय टोली वडा नम्बर ५ भित्र प्रवेश गरेको थियो। “कुनै व्यक्तिलाई पक्राउ गर्न आएको जस्तो देखिन्थ्यो, म त्यो दिन बाहिर रहेकाले पछि मात्रै जानकारी पाएँ,” उनले भने, “पछि नेपाल प्रहरीले समन्वय गरेर विषय मिलाएको हो।”

स्थानीयले खिचेर सार्वजनिक गरेको भिडियोमा भारतीय प्रहरी अधिकारीलाई ‘नेपालमा के कामले आएको ?’ भन्दै प्रश्न गरिएको सुनिन्छ। घटनापछि स्थानीयस्तरमा चासो र आक्रोश देखिएको थियो।

यता पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने बर्दीमै भारतीय सुरक्षाकर्मी प्रवेश गरेको विषयमा आफूलाई औपचारिक जानकारी नआएको बताए। “सादा पोसाकमा आएको भन्ने सुनेको थिएँ, पछि समन्वय गरेर फर्काइएको जानकारी पाएको छु,” उनले बताए।

नेपाल–भारत सीमा क्षेत्रमा यसअघि पनि भारतीय सुरक्षाकर्मी बर्दी र हतियारसहित नेपाल प्रवेश गर्ने घटनाहरू पटक–पटक सार्वजनिक हुँदै आएका छन्। सीमावर्ती क्षेत्रका बासिन्दाले यस्ता घटनामा सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएको भए पनि, प्रायः कुनै कारबाही नगरी भारतीय पक्षलाई जिम्मा लगाएर छाड्ने गरिएको छ।