मनोरञ्जन
अष्टाङ्ग योग प्रशिक्षक संगीता पौडेल मिस नेपाल वर्ल्ड २०२६ को फाइनलमा, भोटमार्फत साथ दिन आग्रह

काठमाडौं । प्रमाणित अष्टाङ्ग योग प्रशिक्षक तथा मानसिक स्वास्थ्य र सचेत जीवनशैलीकी अभियन्ता संगीता पौडेल मिस नेपाल वर्ल्ड २०२६ को फाइनलमा पुगेकी छन् । प्रतियोगी नम्बर ५ मा रहेकी उनले आफूलाई भोटमार्फत साथ दिन सम्पूर्ण नेपाली तथा शुभेच्छुकहरूलाई आग्रह गरेकी छन् । सार्वजनिक भोटिङ जुलाई २८ सम्म खुला रहनेछ भने प्रतियोगिताको ग्रान्ड फिनाले अगस्ट १ मा आयोजना हुनेछ ।
२००२ डिसेम्बर १ मा पोखरामा जन्मिएकी पौडेलले पोखरास्थित डायमन्ड हायर सेकेन्डरी स्कुलबाट विद्यालय शिक्षा पूरा गरेकी हुन् । उनले काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजबाट मनोविज्ञान विषयमा स्नातक अध्ययन सम्पन्न गरेकी छन् ।
प्रमाणित अष्टाङ्ग योग प्रशिक्षक रहेकी पौडेल मानसिक स्वास्थ्य, योग, माइन्डफुलनेस तथा समग्र स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएकी छन् । स्वस्थ शरीर, सन्तुलित मन र उद्देश्यपूर्ण जीवन नै वास्तविक समृद्धिको आधार भएको उनको विश्वास छ ।
उनी शाकाहारी जीवनशैली अपनाउँदै आएकी छन् । जनावरप्रतिको माया, वातावरणप्रतिको जिम्मेवारी र सचेत जीवनशैलीप्रतिको प्रतिबद्धताले आफूलाई प्रेरित गर्ने उनी बताउँछिन् । साना–साना सचेत निर्णयले पनि समाज र वातावरणमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनको विश्वास छ ।
सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक मञ्चमार्फत पौडेलले मानसिक स्वास्थ्य, समग्र कल्याण, दिगो जीवनशैली र करुणामूलक जीवनका विषयमा निरन्तर आवाज उठाउँदै आएकी छन् । युवापुस्तालाई सचेत, जिम्मेवार र उद्देश्यपूर्ण जीवनतर्फ प्रेरित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
फाइनलमा पुगेपछि आफूलाई थप जिम्मेवारी महसुस भएको पौडेल बताउँछिन् । उनका अनुसार सौन्दर्य प्रतियोगिता केवल बाह्य आकर्षणको प्रतिस्पर्धा मात्र नभई व्यक्तित्व, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सकारात्मक प्रभाव प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च पनि हो ।
यस वर्षको मिस नेपाल वर्ल्ड २०२६ को उपाधिका लागि देशभरबाट छनोट भएका प्रतिभावान प्रतिस्पर्धीबीच अन्तिम प्रतिस्पर्धा हुँदैछ । विजेताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।






















