
काठमाडौँ— प्रसिद्ध भारतीय गायिका आशा भोस्लेको निधनमा काठमाडौँ स्थित भारतीय दूतावासले गहिरो समवेदना व्यक्त गरेको छ ।
गायिका भोस्लेका आइतबार ९२ वर्षको उमेरमा निधन भएको हो।
मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको छ।
आशा भोस्ले केही समयदेखि अस्वस्थ थिइन्। मुटु र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शनिबार आइसीयूमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ। आशा भोस्लेका छोरा आनन्दले आइतबार दिउँसो यो खबर पुष्टि गरेका छन्।
आशा भोस्ले भारतीय संगीत उद्योगकी सबभन्दा प्रतिष्ठित पाश्र्वगायिकामध्ये एक मानिन्छिन्। उनले दशकौंसम्म हिन्दी चलचित्र संगीतमा आफ्नो सशक्त उपस्थिति जनाउँदै हजारौं गीत गाएकी थिइन्।
आशा भोस्लेले थुप्रै कालजयी र सुमधुर नेपाली गीतमा समेत स्वर दिएकी छन्। उनले स्वर दिएका यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है लगायत थुप्रै नेपाली गीत कालजयी छन्।
८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी आशा भोसलेले मात्र ९ वर्षको उमेरदेखि नै गायन यात्रा सुरु गरेकी थिइन्। पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनले दिदी लता मंगेशकरसँगै गीत गाउन र अभिनय गर्न थालेकी थिइन्। सन् १९४३ मा मराठी फिल्मबाट पार्श्व गायन सुरु गरेकी उनले १९४८ को फिल्म ुचुनरियाु बाट हिन्दी सिनेमामा पाइला टेकेकी थिइन्।
आफ्नो बहुमुखी प्रतिभाका कारण गजल, भजन, पप र शास्त्रीय संगीतमा जादुमयी स्वर दिएकी आशा ताईको नाममा विश्व कीर्तिमान समेत रहेको छ। सन् २०११ मा गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई संगीतको इतिहासमा विश्वमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने कलाकारको रूपमा मान्यता दिएको थियो।
सुविख्यात गायिका आशा भोसलेले भारतीय २० भन्दा बढी भाषा र विदेशी भाषाहरूमा समेत गरी १२ हजार भन्दा बढी गीत गाएकी छन्।
उनको अन्तिम संस्कार सोमबार गरिने जनाइएको छ।




















