Breaking News
यी ४ प्रदेशमा धेरै भारी वर्षा हुने, काठमाण्डुसहितका ३५ जिल्लामा बाढीको जोखिम उच्च

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाभएर साना नदीले बाढीको जोखिम बढाउने बताएको हो ।
विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर जोखिमरेखाभन्दा तल छ ।
आज कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभाग र मधेस प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।




















