
काठमाडौं । सुदूरपश्चिमको मौलिक भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार पारिएको नयाँ देउडा गीत “हानेर नजरकी तिर” सार्वजनिक गरिएको छ।
लोक देउडा शैलीमा आधारित उक्त गीत कृष भण्डारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गायक रेश बीसीका अनुसार गीतमा सुदूरपश्चिमेली समाजमा प्रचलित माया–प्रेम, आकर्षण र ठट्टेउली शैलीलाई समेटिएको छ। गीतले कुनै एक क्षेत्रको मात्रै नभई समग्र सुदूरपश्चिमको भाषा र संस्कृतिलाई प्रतिनिधित्व गर्ने प्रयास गरेको उनले बताए।

गीतमा शब्द तथा संगीत रेश बीसीकै रहेको छ भने स्वरमा रेश बीसी र रेखा जोशी रहेका छन्। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ कृष्ण बाजुरालीले गरेका हुन्। गीतको अडियो ‘द म्युजिक एरा’ स्टुडियोमा रेकर्ड गरिएको निर्माण टिमले जनाएको छ।
भिडियो निर्देशन कृष भण्डारीले गरेका हुन् भने कथा तथा परिकल्पना रेश बीसीको रहेको छ। भिडियोमा विशाल शाही र कायरा चन्दको अभिनय देख्न सकिन्छ। छायांकन केकाज र दुबेशले गरेका हुन् भने सम्पादन, कलर तथा पोस्टर डिजाइन शंकर साउदले गरेका छन्। मेकअप आर्टिस्टका रूपमा सीता शाही ठकुरी रहेकी छन्।
भिडियोको छायांकन जापानमा गरिएको हो भने पोस्ट–प्रोडक्सन कार्य अत्तरियास्थित जुम प्रोडक्सन हाउसमा सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ।
गीत निर्माणमा जापानको ओसाकास्थित सुदूरपश्चिम नेपाली समाज कन्साई, कर्णाली समाज ओसाका लगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोग रहेको बताइएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
भिडिओः






















