जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन हर्कराज राईको माग

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन हर्कराज राईको माग
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले प्रधानमन्त्रीले संसदमा दिएको विवादास्पद अभिव्यक्ति तत्काल प्रतिनिधिसभाको अभिलेखबाट हटाउन माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ संज्ञा दिँदै प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्ने बताए। आफूहरूले निरन्तर रूपमा उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिरहे पनि त्यसको सुनुवाइ नभएको भन्दै उनले असन्तुष्टि जनाए।
राईले प्रधानमन्त्रीको भनाइले संसदको गरिमा बढाउन नसकेको टिप्पणी गर्दै विवादित अभिव्यक्तिप्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।
यसैक्रममा उनले नेपालमा रहेका भुटानी शरणार्थीहरूको दीर्घकालीन समस्यातर्फ सरकारको ध्यानाकर्षण गराए। दशकौँदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकहरूको स्वदेश फिर्ती वा तेस्रो मुलुकमा रहेका आफ्ना परिवारसँग पुनर्मिलनको मागलाई सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ थियो।
‘आफ्नो देश छोडेर शरणार्थीका रूपमा बाँच्न बाध्य भएका मानिसहरूको पीडाप्रति राज्य संवेदनशील हुनुपर्छ। उनीहरूलाई कि स्वदेश फर्काउने पहल गरियोस्, होइन भने परिवार मिलनका लागि आवश्यक कूटनीतिक पहल अघि बढाइयोस्,’ उनले भने।
सांसद राईले रक्षा मन्त्रालयसँग सम्बन्धित छलफलमा विभागीय मन्त्री अनुपस्थित रहेको विषयप्रति पनि आपत्ति जनाए। साथै, मन्त्रालयको बजेट विवरण समेटिएको ‘रेड बुक’ सांसदहरूलाई उपलब्ध नगराइएको भन्दै उनले त्यसबारे सभामुखमार्फत सरकारसँग स्पष्टीकरण माग गरे।
रक्षा मन्त्रालयको खर्च र कार्यक्रमबारे जानकारी दिने दस्तावेज नै सांसदहरूलाई वितरण नगरिनु संसदीय अभ्यास र पारदर्शिताको दृष्टिले उचित नभएको उनको भनाइ थियो।