जोडिनुहोस
  • होमपेज
  • बैतडीमा दुईतले कच्ची घर भत्कियो, तीन जना घाइते

बैतडीमा दुईतले कच्ची घर भत्कियो, तीन जना घाइते

दशरथचन्द (बैतडी) । बैतडीको मेलौली नगरपालिका–१ सिराडमा कच्ची घर भत्किँदा तीन जना घाइते भएका छन्।

स्थानीय सुने पार्कीको ढुङ्गा–माटोले बनेको दुईतले घरको मुख्य निधाल भाँचिएर घर भत्किँदा उनकी १८ वर्षीया छोरी मनिषा पार्की, १३ वर्षीया चाँदनी पार्की र आठ महिनाकी गर्भवती २२ वर्षीया बुहारी प्रिया पार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये प्रियाको अवस्था गम्भीर छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तश्चदेहीबाट प्रहरी सहायक हवल्दार घनश्याम जैशीको नेतृत्वमा छ जना प्रहरीको टोली घटनास्थल पुगेको थियो।

प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ।