
काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु भएको छ ।
विद्यालय भवनको शिलान्यास आइतबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव बसिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा गरेका हुन् ।
करिब १ करोड ९० लाख नेपाली रुपैयाँको भारतीय आर्थिक सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिनेछ । परियोजना भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुनेछ ।

भारतीय दूतावासका अनुसार कञ्चनपुर जिल्लामा भारतको सहयोगमा सञ्चालन हुन लागेको यो ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।
शिलान्यास कार्यक्रममा भीमदत्त नगरपालिकाकी उपप्रमुखसहित स्थानीय सरोकारवालाले भारत सरकारले उपलब्ध गराउँदै आएको विकास सहयोगको प्रशंसा गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि थप गुणस्तरीय तथा सुविधासम्पन्न अध्ययन–अध्यापनको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए ।






















