जोडिनुहोस
  • होमपेज
  • सुकुम्बासीदेखि रास्वपा विधानसम्म : शाह–लामिछानेबीच चार घण्टा संवाद

सुकुम्बासीदेखि रास्वपा विधानसम्म : शाह–लामिछानेबीच चार घण्टा संवाद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार करिब चार घण्टा छलफल भएको छ।

प्रधानमन्त्री शाह लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेका थिए। भेटमा पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीको विधान संशोधन, पदाधिकारी तथा केन्द्रीय समिति मनोनयनलगायत विषयमा छलफल भएको बताइएको छ।

गणेश नेपालीको आत्मदाहको घटना र सुकुम्बासी समस्यालाई लिएर सरकार सडकदेखि सदनसम्म आलोचनामा परिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटबारे प्रधानमन्त्री शाह र सभापति लामिछानेले सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

छलफलका क्रममा लामिछानेले सुकुम्बासी समस्याको शीघ्र समाधान गर्न र गणेश नेपालीको घटनामा तत्काल प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ।

जवाफमा प्रधानमन्त्री शाहले दुवै विषयमा सरकारले काम गरिरहेको र छिट्टै नतिजा आउने विश्वास दिलाएका थिए। संसदमार्फत सरकारका कामबारे जानकारी गराउने र सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ।

भेटमा पार्टी पदाधिकारी मनोनयन र विधानका केही प्रावधानबारे पनि कुराकानी भएको थियो। प्रधानमन्त्री शाहका लागि लक्षित मानिएको वरिष्ठ नेताको व्यवस्था एकभन्दा बढी हुने गरी राखिएपछि आन्तरिक विवाद बढेको छ। साथै, विधानमा अधिकार सभापतिमा बढी केन्द्रित गरिएको र संसदीय दलका नेतालाई समेत पदाधिकारीमार्फत फिर्ता बोलाउन सकिने व्यवस्था राखिएकाले शाह पक्ष असन्तुष्ट रहेको बताइएको छ।