जोडिनुहोस
  • होमपेज
  • नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

नेपालको पहिलो न्युज च्यानल सगरमाथा टेलिभिजन २०औँ वर्षमा प्रवेश

काठमाडौं। नेपालको पहिलो समाचारमूलक टेलिभिजन च्यानल सगरमाथा टेलिभिजन १९ वर्षको यात्रा पूरा गर्दै २०औँ वर्षमा प्रवेश गरेको छ। राष्ट्र, राष्ट्रियता, सुशासन र जिम्मेवार पत्रकारिताप्रति प्रतिबद्धता जनाउँदै आएको सगरमाथा टेलिभिजनले वार्षिकोत्सवका अवसरमा विशेष समारोह आयोजना गरी विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ।

समारोहमा समाज, सञ्चार, मानवअधिकार, सामाजिक सेवा, जनहित तथा राष्ट्रिय योगदानका विविध क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका नेपाल–भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करी, अधिकारकर्मी पुनम श्रेष्ठ, वर्ल्ड बुद्धिष्ट फेडेरेशनका अध्यक्ष दावा गुरुङ लामा तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताप्रति टेलिभिजन स्थापनाकालदेखि नै अडिग रहेको बताए। अन्याय, अत्याचार, भ्रष्टाचार र सामाजिक विकृतिविरुद्ध निर्भीक रूपमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले राष्ट्र निर्माणको अभियानमा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। आगामी दिनमा पनि कुनै दबाब वा प्रभावमा नपरी स्वतन्त्र र विश्वसनीय पत्रकारितालाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।

समारोहका प्रमुख अतिथि, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपालको सञ्चार क्षेत्रमा सगरमाथा टेलिभिजनले विशिष्ट पहिचान बनाएको बताए। देश राजनीतिक संक्रमण र अस्थिरताबाट गुज्रिरहेका बेला स्थापना भएको सगरमाथा टेलिभिजनले विगत १९ वर्षमा निष्पक्ष, तथ्यपरक र जनउत्तरदायी पत्रकारिताको अभ्यास गर्दै आफ्नो विश्वसनीयता कायम राख्न सफल भएको उनको भनाइ थियो।

सो अवसरमा टेलिभिजनका अध्यक्ष गुरुङले प्रमुख अतिथि केसीलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेका थिए।

वि.सं. २०६४ सालमा प्रसारण यात्रा सुरु गर्दा नेपालमा २४सै घण्टा समाचारमात्र प्रसारण गर्ने छुट्टै समाचार च्यानल थिएन। त्यही अभावबीच भुइँमान्छेका मुद्दालाई केन्द्रमा राख्ने, सरकारलाई जनउत्तरदायी बनाउन खबरदारी गर्ने, लोकतान्त्रिक मूल्य, सुशासन र समृद्ध समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यका साथ सगरमाथा टेलिभिजनको स्थापना भएको थियो।

१९ वर्षको यात्रामा टेलिभिजनले अनेक राजनीतिक, सामाजिक र आर्थिक उतारचढाव नजिकबाट देख्यो। राजतन्त्रको अन्त्यदेखि गणतन्त्र स्थापना, संविधान निर्माणको जटिल प्रक्रिया, विभिन्न जनआन्दोलन, राजनीतिक परिवर्तन र राष्ट्रिय संकटका प्रत्येक मोडमा सगरमाथा टेलिभिजनले निरन्तर समाचार, विश्लेषण र जनचासोका विषयलाई प्राथमिकतामा राख्दै आफ्नो भूमिका निर्वाह गरेको छ।

टेलिभिजनले राजनीतिक गतिविधिमात्र होइन, आर्थिक विकास, सुशासन, सामाजिक न्याय, नागरिकका आधारभूत अधिकार र जनजीविकासँग जोडिएका विषयमा निरन्तर खबरदारी गर्दै आएको जनाएको छ। २०औँ वर्षमा प्रवेशसँगै पनि सत्य, निष्पक्ष, तथ्यपरक र जिम्मेवार पत्रकारितामार्फत नागरिकको आवाजलाई अझ सशक्त रूपमा उठाउँदै राष्ट्रहितलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता सगरमाथा टेलिभिजनले दोहोर्‍याएको छ।