Breaking News
हरिशयनी एकादशीमा तुलसीको महत्व : धार्मिक आस्थासँगै स्वास्थ्यका लागि पनि लाभदायी

आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष पूजा–आराधना सुरु गरेका छन् । धार्मिक रूपमा भगवान् विष्णुको प्रतीक मानिने तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिका रूपमा पनि लिइन्छ ।
आयुर्वेददेखि आधुनिक अध्ययनसम्म तुलसीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने, श्वासप्रश्वास प्रणालीलाई स्वस्थ राख्ने र विभिन्न संक्रमणबाट जोगाउन सहयोग गर्ने जडीबुटीका रूपमा उल्लेख गरिएको छ ।
आयुर्वेदका अनुसार तुलसी नियमित सेवन गर्ने व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने विश्वास गरिन्छ । बिहान खाली पेटमा चारदेखि पाँचवटा तुलसीका पात पानीसँग वा पिसेर सेवन गर्दा शरीरलाई विभिन्न संक्रमणबाट जोगाउन मद्दत पुग्ने बताइन्छ ।
तुलसीको नियमित सेवनले श्वासप्रश्वास प्रणालीको झिल्लीलाई स्वस्थ राख्न सहयोग गर्छ । छातीमा जमेको कफ हटाउने, चिसो लाग्न नदिने र छातीको दुखाइ कम गर्न पनि तुलसी प्रभावकारी मानिन्छ । दम, ब्रोंकाइटिस तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिका लागि पनि तुलसी उपयोगी मानिन्छ ।
आयुर्वेदमा तुलसीलाई ज्वरो नियन्त्रणका लागि समेत प्रयोग गरिन्छ । विशेषगरी निमोनिया वा मलेरियासम्बन्धी ज्वरोमा तुलसीसँग मरिच मिसाएर सेवन गर्ने परम्परा छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्ने विश्वास गरिन्छ । तुलसी, अदुवा र मरिच मिसाएर बनाइएको चिया स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । तुलसीका सुकाएका पात, मरिच र सुख्खा अदुवाको धुलोलाई पानीमा उमालेर तयार गरिएको चियाले टाउको दुख्ने, नाक बन्द हुने, पिनास तथा श्वासनलीको समस्या कम गर्न मद्दत गर्ने आयुर्वेदिक मान्यता छ ।
तुलसीलाई दूधसँग मिसाएर बिहान खाली पेटमा सेवन गर्दा अझ प्रभावकारी हुने विश्वास गरिन्छ । यस्तो मिश्रणले दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या कम गर्न, माइग्रेन तथा टाउको दुखाइ घटाउन र मुटुको स्वास्थ्य राम्रो राख्न सहयोग पु¥याउने आयुर्वेदमा उल्लेख छ ।
विशेषज्ञहरूका अनुसार तुलसी औषधीय गुणयुक्त वनस्पति भए पनि यसको सेवन उचित मात्रामा र सही विधिबाट गर्नुपर्छ । दीर्घरोग भएका, नियमित औषधि सेवन गरिरहेका वा गर्भवती महिलाले नियमित रूपमा तुलसीलाई औषधिका रूपमा प्रयोग गर्नुअघि चिकित्सक वा आयुर्वेद विशेषज्ञको परामर्श लिनु उपयुक्त हुन्छ ।
धार्मिक आस्थाको केन्द्रका रूपमा पूजिने तुलसी स्वास्थ्य संरक्षणका दृष्टिले पनि उपयोगी मानिन्छ। त्यसैले हरिशयनी एकादशीमा तुलसीको पूजा मात्र नभई यसको औषधीय महत्वबारे पनि जनचेतना बढाउन आवश्यक देखिन्छ ।





















