
सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले बुधबार संयुक्त रूपमा उक्त गुम्बा भवनको शिलान्यास गरेका हुन् ।
भारत सरकारको आर्थिक सहयोगमा करिब ३ करोड ३० लाख नेपाली रुपैयाँको लागतमा यस गुम्बा भवनको निर्माण हुन लागेको हो । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो सोलुखुम्बु जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालित छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

भवन शिलान्यास कार्यक्रममा लिखु पिके गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे । नयाँ पूर्वाधारले सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्न मद्दत पुर्याउने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको भारतीय राजदूतावासले जनाएको छ । यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दूतावासले उल्लेख गरेको छ ।






















