जोडिनुहोस
  • होमपेज
  • विनिता खड्का भन्छिन्, ‘त्रासको राजनीति लोकतन्त्रमाथिको सिधा प्रहार हो’

विनिता खड्का भन्छिन्, ‘त्रासको राजनीति लोकतन्त्रमाथिको सिधा प्रहार हो’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य विनिता खड्काले आतंक फैलाउने, धम्काउने र दबाबमा राख्ने उदेश्यले कांग्रेस पार्टी सभापति गगन थापा, मिडिया हाउस र व्यवसायिक भवनअगाडी बेवारिसे सवारी साधन छोड्नु निन्दनीय भएको बताएकी छिन् ।

खड्काले भनेकी छिन्, कुनै पनि राजनीतिक नेताको घरअगाडि शंकास्पद रुपमा थ्रेट दिने उदेश्यले गाडी पार्क गरी बाटो अवरुद्ध गर्ने, असुरक्षाको वातावरण सिर्जना गर्ने वा दबाब दिने कुनै पनि गतिविधिको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ।

सरकारलाई स्पष्ट चेतावनी छ—कानुन सबैका लागि समान हो। राज्य संयन्त्रलाई राजनीतिक प्रतिशोध वा डरधम्की दिने माध्यम बनाउने कुनै पनि प्रयास लोकतन्त्रमाथिको सिधा प्रहार हो। यदि कोही दोषी छन् भने उनीहरू जोसुकै हुन्, निष्पक्ष छानबिन गरी कानुनी कारबाही गरियोस्। यदि सरकार मौन बस्छ भने त्यो मौनता नै शंकाको विषय बन्नेछ।

लोकतन्त्र बचाउने मुख्य जिम्मेवारी सरकारकै हो। प्रतिपक्षलाई धम्क्याएर होइन, कानुनको शासन स्थापित गरेर मात्रै लोकतन्त्र बलियो हुन्छ। सत्ता अस्थायी हो, तर लोकतान्त्रिक मूल्य र जनताको फैसला स्थायी हुन्छ।

देशमा अब विचारसँग बहस गर्ने संस्कार हराउँदै गएको हो कि भन्ने चिन्ता बढ्न थालेको छ। असहमतिलाई तर्कले होइन, घेराबन्दी र दबाबले जवाफ दिने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत पक्कै होइन।

राजनीतिक दल, सञ्चार संस्था, व्यवसायी वा सार्वजनिक जीवनका व्यक्तिहरूमाथि डर र त्रासको वातावरण सिर्जना गर्ने कुनै पनि गतिविधि निन्दनीय छ। यदि यस्ता घटनाबारे उठेका प्रश्नहरू सत्य हुन् भने, सम्बन्धित निकायले तत्काल सत्यतथ्य सार्वजनिक गर्नुपर्छ। र, दोषीलाई कार्बाहीको कठघरामा उभ्याउनु पर्छ ।

लोकतन्त्रमा आलोचनाको उत्तर आलोचनाले दिन सकिन्छ, तर दबाब र धम्कीको संस्कृतिले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउँछ। आज अरूमाथि प्रयोग गरिएको यस्तो प्रवृत्ति भोलि आफूलाई पनि भारी महँगो पर्न सक्छ। त्यसैले सबै राजनीतिक शक्तिले संयमता, सहिष्णुता र कानुनको शासनलाई प्राथमिकता दिनु आवश्यक छ।

पछिल्ला दिनहरूमा भएका दुःखद र विवादास्पद घटनाहरूले नागरिकमा असुरक्षा, अविश्वास र आक्रोश बढाएको छ। कुनै नागरिकले आत्महत्या, आत्मदाहको बाटो रोज्नुपर्ने अवस्था होस्, हिरासत वा सुकुम्वासी होल्डिङ सेन्टरमा मानवअधिकारमाथि प्रश्न उठ्ने घटना होस्, वा राजनीतिक आस्थाका आधारमा कसैमाथि दुर्व्यवहार भएको आरोप—यी सबै घटनाले सरकारको जवाफदेहिता खोजिरहेका छन्।

सरकारको पहिलो दायित्व नागरिकको जीवन, सुरक्षा र अधिकारको रक्षा गर्नु हो। आलोचनालाई दबाउने होइन, प्रश्नहरूको निष्पक्ष छानबिन गरी सत्य सार्वजनिक गर्ने हो। यदि राज्य मौन बस्छ वा दोषीलाई संरक्षण गर्छ भने त्यसले लोकतन्त्रमाथिको जनविश्वास कमजोर बनाउँछ।

नेपाली कांग्रेस स्पष्ट रूपमा भन्छ—लोकतन्त्रमा प्रतिशोध होइन, न्याय चाहिन्छस डर होइन, विश्वास चाहिन्छस शक्ति प्रदर्शन होइन, कानुनको शासन चाहिन्छ। जनताको आवाजलाई बेवास्ता गर्ने कुनै पनि सरकार अन्ततः जनताकै कठघरामा उभिनुपर्ने दिन आउँछ।
बी।पी।ले सिकाएको लोकतन्त्रमा असहमतिलाई तर्कले जितिन्छ, त्रास र डरको वातावरण सिर्जना गरेर होइन। आजको घटनाले हामीलाई फेरि त्यही मूल्य सम्झाइरहेको छ।