जोडिनुहोस
  • होमपेज
  • थकाली भान्साघर संघ नेपाललाई कलेक्टिभ ट्रेडमार्कको प्रमाणपत्र

थकाली भान्साघर संघ नेपाललाई कलेक्टिभ ट्रेडमार्कको प्रमाणपत्र

काठमाडौं । थकाली भान्साघर संघ नेपालले उद्योग विभागबाट आधिकारिक रूपमा कलेक्टिभ ट्रेडमार्क (Collective Trademark) सर्टिफिकेट र लोगो प्राप्त गरेको छ। ‘थकाली भान्साघर संघ नेपाल’ नाममा दर्ता भएको कलेक्टिभ ट्रेडमार्कसहितको प्रमाणपत्रले अब संघमा आबद्ध भान्साघरलाई आधिकारिक पहिचान दिनेछ।

संघका अध्यक्ष विवेक तुलाचनका अनुसार करिब तीन वर्षको निरन्तर प्रयासपछि संघले कलेक्टिभ ट्रेडमार्क प्राप्त गर्न सफलता हासिल गरेको हो।

सोमबार उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले संघलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए। अध्यक्ष तुलाचनका अनुसार अब संघमा आबद्ध प्रत्येक होटल तथा रेस्टुरेन्टले आधिकारिक कलेक्टिभ ट्रेडमार्क लोगो प्रयोग गर्न पाउनेछन्। यसबाट ग्राहकले प्रमाणित र आधिकारिक थकाली भान्साघर सहज रूपमा पहिचान गर्न सक्ने विश्वास गरिएको छ।

बजारमा ‘थकाली’ नाम प्रयोग गर्ने धेरै व्यवसाय सञ्चालनमा रहेकाले वास्तविक तथा प्रामाणिक (अथेन्टिक) थकाली भान्साघर कुन हो भन्ने अन्योल रहेको भन्दै तुलाचनले यही समस्या समाधान गर्न कलेक्टिभ ट्रेडमार्क प्राप्त गरिएको बताए।

उनका अनुसार लोगो प्रयोग गर्ने सदस्य संस्थाले तोकिएको मापदण्डअनुसार गुणस्तरीय खाना र सेवा उपलब्ध गराउनुपर्नेछ। मापदण्ड विपरीत सेवा दिएको पाइएमा आवश्यक कारबाहीसमेत गरिने व्यवस्था गरिएको छ।

कलेक्टिभ ट्रेडमार्क प्राप्त भएसँगै अब उक्त नाम र लोगो अन्य व्यक्ति वा संस्थाले अनधिकृत रूपमा प्रयोग गर्न पाउने छैनन्। यसले थकाली भान्साघरको मौलिकता, विश्वसनीयता र ब्रान्ड पहिचानलाई थप सुदृढ बनाउने संघको विश्वास छ।

संघले यसअघि पनि आफ्नो गतिविधि औपचारिक रूपमा सञ्चालन गर्दै आएको भए पनि कलेक्टिभ ट्रेडमार्क प्राप्त भएपछि अब यसको कानुनी तथा संस्थागत पहिचान अझ बलियो भएको जनाएको छ।