देश
भारतको सहयोगमा पुनर्निर्मित जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण

भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारलाई प्रदान गरिएको सन् २०२५ को युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गतको ‘अवार्ड अफ मेरिट’ औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

नेपालस्थित भारतीय राजदूतावासका अनुसार बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई धातुपट्टिका र आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। कार्यक्रममा स्थानीय समुदाय, इन्डियन नेशनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक), सम्पदा संरक्षणविद् तथा नेपाल सरकारका अधिकारीहरूको सहभागिता थियो।

राजदूतावासका अनुसार जेष्ठ वर्ण महाविहारको संरक्षण कार्य २०७२ सालको गोरखा भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको करिब १३ करोड ७८ लाख रुपैयाँ अनुदानमा सम्पन्न गरिएको हो। परियोजनामा प्राविधिक परामर्शदाताका रूपमा भारतको इन्ट्याकले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको थियो। पुनर्निर्माण सम्पन्न भएपछि यसको उद्घाटन २०८० चैत ९ गते तत्कालीन सहरी विकासमन्त्री धनबहादुर बुढा र नेपालका लागि तत्कालीन भारतीय राजदूत नवीन श्रीवास्तवले गरेका थिए।
युनेस्कोले यस परियोजनालाई समुदाय–केन्द्रित संरक्षण अभ्यास, ऐतिहासिक नेवारी काष्ठकला तथा परम्परागत वास्तुकलाको संरक्षणसँग आधुनिक भूकम्पीय सुरक्षालाई सफलतापूर्वक समन्वय गरेको भन्दै सम्मान प्रदान गरेको भारतीय राजदूतावासले जनाएको छ। संरक्षण कार्यका क्रममा नेवार बौद्ध समुदायका धार्मिक अनुष्ठान र सांस्कृतिक गतिविधि अवरोधबिनै सञ्चालन हुने व्यवस्था मिलाइएको पनि जनाइएको छ।
भारतीय राजदूतावासका अनुसार भारत सरकारले गोरखा भूकम्पपछि नेपालको पुनर्निर्माणका लागि एक अर्ब अमेरिकी डलर बराबरको सहयोग प्रतिबद्धता जनाएको थियो। यसअन्तर्गत हालसम्म ५० हजार निजी आवास, ७० विद्यालय र एक पुस्तकालय, १२२ स्वास्थ्य संस्था तथा १७ सांस्कृतिक सम्पदा स्थलको पुनर्निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। थप विद्यालय, स्वास्थ्य संस्था र सांस्कृतिक सम्पदा पुनर्निर्माणका परियोजनाहरू विभिन्न चरणमा रहेका छन्।
सांस्कृतिक सम्पदा संरक्षणअन्तर्गत भारत सरकारले काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ र गोरखामा गरी ३० वटा परियोजनामा सहयोग गर्दै आएको छ। तीमध्ये सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी घर, जेष्ठ वर्ण महाविहार, जंगम मठ र तार्के घ्याङ गुम्बालगायतका सम्पदा पुनर्स्थापना परियोजना उल्लेखनीय रहेका छन्।

समारोहमा बोल्दै नियोग उपप्रमुख डा. राकेश पाण्डेले जेष्ठ वर्ण महाविहार परियोजनाको सफलताले नेपाल–भारतबीचको गहिरो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाएको बताए। उनले साझा सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्स्थापनामा नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको दोहोर्याए।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेष्ठ वर्ण महाविहारको संरक्षणमा भारत सरकारको सहयोगले दुई देशबीचको विकास साझेदारीलाई थप मजबुत बनाएको बताए। उनले ललितपुरका अन्य सांस्कृतिक सम्पदाको पुनर्स्थापनामा समेत सहयोग गरेकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै युनेस्कोलाई पुरस्कारका लागि धन्यवाद दिए।

जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिका प्रतिनिधिले समयमै आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै पुनर्स्थापित महाविहार समुदायको उत्थानशीलता र नेपाल–भारत मित्रताको प्रतीक बनेको बताए।





















