
जाजरकोट। जाजरकोटमा भएका दुईवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा २० जना यात्रु घाइते भएका छन् । भेरी नगरपालिका–७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको मिनीबस आज बिहान साढे ११ बजे दुर्घटना भएको हो ।
मिनीबस मध्यपहाडी राजमार्ग अन्तर्गत कुदुको जिरो प्वाइट नजिक सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा १० बालबालिकासहित १७ जना घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभएको छ । गम्भीर घाइते भएका ८ जनालाई हेलिकोप्टर मार्फत सुर्खेत लैजाने तयारी छ ।
यस्तै बारेकोट गाउँपालिकाको लिम्साबाट जिल्ला सदरमुकाम खलंगा आउँदै गरेको घ १ ज ५९५ नम्बरको जिप नलगाड नगरपालिका–४ बाउसेखोला नजिक दुर्घटना भएको छ । उक्त दुर्घटनामा ३ जना यात्रु घाइते भएका छन् ।
जिपमा सवार ७ जना मध्ये गम्भीर चोट लागेका ३ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले जनाएको छ । घाइते तीनै जना बारेकोट गाउँपालिका २ लिम्साका रहेका छन् ।