जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • बोडेमा सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने, पुस्तान्तरणको निरन्तरता

बोडेमा सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने, पुस्तान्तरणको निरन्तरता

भक्तपुर। मध्यपुरथिमि नगरपालिकाको बोडेमा नयाँ वर्षको वैशाख २ गते परम्परागत रूपमा मनाइने विश्वप्रसिद्ध जिब्रो छेड्ने जात्रा यस वर्ष २८ वर्षीय स्थानीय युवा सुजन बाग श्रेष्ठले निरन्तरता दिने भएका छन्। यो उनको तेस्रोपटक जिब्रो छेड्ने साहसिक कार्य हुनेछ।

सुजन, नवौँपटक जिब्रो छेडेर जात्रालाई जीवन्त राख्ने ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा हुन्। उनले दुई वर्षअघि जिब्रो छेडेर यस परम्परालाई पुस्तान्तरण गरेका थिए। यसअघि कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडेपछि उनका भाइ बुद्धकृष्णले नौ पटकसम्म यो जिम्मेवारी सम्हालेका थिए।

जिब्रो छेड्नुअघि पालना गर्नुपर्ने कठोर नियमहरूबारे सुजनका बुबा बुद्धकृष्णले जानकारी दिए। जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध, महिला, जुठो वा सुतक परेका व्यक्तिलाई छुनु हुँदैन। साथै, व्रत अवधिभर नुन खान र बोडे गाउँ छोडेर बाहिर जान पनि निषेध छ। जिब्रो छेड्नुभन्दा तीन दिनअघिदेखि व्रत बस्नु अनिवार्य हुन्छ। सुजनले भने, “जात्रा जोगाउन मैले यस वर्ष पनि जिब्रो छेड्न तयार भएको छु।”

उनले थपे, “बुबाले जिब्रो छेड्दा म सधैँ उहाँसँगै हुन्थेँ। उहाँले जात्रा, कला र संस्कृतिलाई जोगाएको देखेर मेरो मनमा पनि इच्छा जाग्यो र आँट आयो। त्यो मौका दुई वर्षअघि मिल्यो र यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महादीप बोकेर बोडे गाउँ घुम्नेछु।”

बुद्धकृष्णले आफ्नो अनुभव सुनाउँदै भने, “मैले जिब्रो छेड्दा सानैदेखि छोरा मसँगै हुन्थ्यो। यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने भावना मलाई मात्र होइन, मेरो छोरालाई पनि थियो। बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरू तयार हुनुपर्छ।”

जात्राको तयारीस्वरूप, जिब्रो छेड्ने व्यक्तिले जात्राअघि नाय पमाको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिई जिब्रो छेड्ने निश्चित गर्ने परम्परा छ। सोही दिनदेखि जात्राको व्रत पनि सुरु हुन्छ।

जात्राको दिन, व्रत बस्ने व्यक्तिले जिब्रो छेड्नुअघि शक्ति प्राप्तिको कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजा गर्दछन्। त्यसपछि प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ। जिब्रो छेडिसकेपछि महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोक्ने र घाउमा त्यहीँको माटो लगाउने परम्परा छ। अहिलेसम्म बोडेका १३ जनाले निरन्तर १०८ वर्षसम्म यो जात्रा धान्दै आएका छन्।