जोडिनुहोस
  • होमपेज
  • पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न एकीकृत समाजवादीको निर्देशन

पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न एकीकृत समाजवादीको निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन दिएको छ । महासचिव घनश्याम भुसालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कोही नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरू नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, सेयर नगर्न निर्देशन दिएका हुन् ।

पछिल्लो समय पार्टीका जिम्मेवार नेताबाट सामाजिक सञ्जालमा आएका अभिव्यक्तिले संगठन सुदृढीकरणमा समस्या हुने उनले बताएका छन् । उनले भनेका छन्, “राजनीतिक व्यक्ति आफूप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले, कमिटीले र अरू नेताहरूले पनि उत्तरदायित्वको बोध गर्नुपर्छ ।”

महासचिव भुसालले १०औँ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्य चयनका क्रममा देखिएको असन्तुष्टिले पार्टीका नेताहरूको मर्यादा समेत नराख्ने गरी सामाजिक सञ्जालमा टिप्पणी भएकामा आपत्ति प्रकट गरेका छन् । पार्टी पद्धतिअनुसार नेताले आफूलाई लागेका सबै कुरा बैठकमा उठाउन उनले आग्रह गरेका छन् ।

यसैबीच, पार्टीले क्षमता र योगदानका आधारमा छिट्टै नेताहरूको जिम्मेवारी हेरफेर गरी १८ केन्द्रीय पदाधिकारी छनोट तथा विभागीय प्रमुखको जिम्मेवारी तोक्ने जनाइएको छ । ३४४ केन्द्रीय कमिटी मनोनयन गरेको पार्टीले यही भदौ ९ देखि ११ गतेसम्म केन्द्रीय कमिटीको पूर्ण बैठक काठमाडौंमा आह्वान गरेको छ ।

धेरै टिप्पणी गरिएका