
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन् । बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन् ।
उनले भने, ‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ। ललिता निवासको फाइल फेरि खोलिएको छ। यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला, थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ।