
सिरहा। मधेस प्रदेश सरकारले सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलका निम्न आयस्तर भएका डोम समुदायका लागि दुई वर्षअघि निर्माण गरिदिएका ‘जनता आवास’ कार्यक्रमका घरहरू पूर्ण रूपमा प्रयोगमा आउन सकेका छैनन्।
हुलाकी सडक विस्तारका कारण विस्थापित १५ डोम परिवारका लागि निर्माण गरिएका तीन कोठे पक्की घरमध्ये सात परिवारले प्रयोग नगर्दा ती घरहरू अहिले झार पलाएर बेवारिसे बनेका छन्।
कार्यक्रमका प्राविधिक रवीन्द्र यादवका अनुसार लालपुर्जा भएका १५ परिवारका लागि घर निर्माण गरिएको थियो भने तीन परिवारको लालपुर्जा नभएका कारण घर बन्न सकेन। उनले पालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा जान नमान्दा समस्या भएको र बनेका घरहरू दुई वर्षअघि नै हस्तान्तरण गरिएको बताए। जनता आवास कार्यक्रमले प्रति घर रु तीन लाख ३२ हजार अनुदान उपलब्ध गराएको थियो।
घर नबसेका कैला मरिकले बाटो, बिजुली र खानेपानीको सुविधा नभएकाले ती घरमा बस्न नसकेको बताए। उनले सरकारले यी सुविधा उपलब्ध गराए तत्कालै सर्ने जानकारी दिए।
वडा नं ३ का वडाध्यक्ष विनोदकुमार यादवले डोम परिवार बजार छोड्न नमान्ने गरेको गुनासो गरे। उनले यदि उनीहरू घरमा बस्ने निश्चित भए वडाले तत्कालै बाटो, बिजुली र खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए। यहाँका डोम समुदाय बाँसका सामग्री बनाएर बजारमा बेच्ने भएकाले उक्त स्थान छोड्न नमानेको वडाध्यक्षको भनाई छ। हुलाकी सडक विस्तार पुनः सुरु भएपछि अहिलेको थातथलो छोड्नुपर्ने अवस्थामा ती घरहरू प्रयोगमा आउन सक्ने उनले बताए।
स्थानीयवासीहरू जनता आवास कार्यक्रमका कतिपय घर पूर्ण रूपमा निर्माण नभई जीर्ण भएको भन्दै सरकारको लगानी खेर गएको बताउँछन्। उनीहरूले घरको उपयोगिताका लागि पालिकाले ठोस पहल गर्नुपर्ने माग गरेका छन्।