
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यति बेला देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ।