
महाशाखाका मौसमविद् गोविन्दकुमार झाकाअनुसार आज तीन प्रदेशका पहाडी भूभागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ । वर्षा भएपनि खासै ठूलो भारी वर्षाको सम्भावना छैन।
‘आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहेपनि झरी पर्नेछैन, क्षति पुर्याउने किसिमको पानी पर्दैन,’ उनले भने।
मौसमविद् झाले वर्षा भएपनि दसैँको टीका बिथोल्ने किसिमको झरी पर्ने अवस्था नरहेको उल्लेख गरे। दिउँसो कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरिएको छ। कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भूभाग र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।
देशको बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ। न्यूनतम तापक्रम क्रमशः घट्दै गएकाले काठमाडौंमा सामान्य चिसो बढेको छ।
अबको एकसाता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज काठमाडौंको अधिकतम तापक्रम २७ देखि २९ सम्म र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहनेछ।