
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा सरकारी वकिलहरूको टोली अझ बलियो बनाउने प्रयास गरिएको छ । चितवनको साहारा सहकारी ठगी मुद्दामा थुनछेक बहस भइरहँदा तीन जिल्लाका सरकारी वकिल झिकाइएको हो ।
चितवन जिल्ला अदालतमा जारी बहसलाई थप प्रभावकारी बनाउन छिमेकी जिल्लाबाट समेत सरकारी वकिलहरू झिकाइएका छन् । चितवनका जिल्ला न्यायधीवक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए । तर, महान्याधिवक्ता कार्यालयले उक्त मुद्दालाई थप मजबुत बनाउन भन्दै पर्साका जिल्ला न्यायधिवक्ता भोलानाथ निरौला, धादिङका दशरथ पंगेनी र बाराका शम्भुकुमार बस्नेतलाई चितवन पठाएको छ ।
नेपाल सरकारको तर्फबाट बहसलाई मजबुत बनाउन र कानुनी पक्षलाई प्रस्ट्याउन अन्य जिल्लाका वकिलहरू झिकाइएको बताइन्छ । अदालतमा सहकारी पीडितको पक्षमा कानूनी लडाइँ लड्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, रामचन्द्र गौतमसहितका कानुन व्यवसायीहरू पनि सक्रिय छन् । उनीहरूले आजको बहसमा सहभागी हुने वकालतनामा दर्ता गराएका छन् ।
चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा जारी बहसको दोस्रो दिनमा जाहेरवालाका वकिलहरूले बहस गरिरहेका छन् । उक्त बहसपछि प्रतिवादी पक्षका ११ जना वकिलहरूले लामिछानेको पक्षमा तर्क प्रस्तुत गर्नेछन् ।