जोडिनुहोस
  • होमपेज
  • हमास सत्ताबाट हट्नुपर्ने माग गर्दै गाजामा युद्ध शुरू भएयताकै ठूलो प्रदर्शन

हमास सत्ताबाट हट्नुपर्ने माग गर्दै गाजामा युद्ध शुरू भएयताकै ठूलो प्रदर्शन

गाजामा शासन गरिरहेको प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्ध गाजामै ठूलो प्रदर्शन भएको छ । हमास सत्ताबाट हट्नुपर्ने माग गर्दै उत्तरी गाजाको बेत लाहियाको सडकमा सयौं मानिसहरूले प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।

यसअघि पनि हमासविरुद्ध प्रदर्शन हुने गरेकोमा यो इजरायल–गाजा बीचको पछिल्लो युद्ध शुरू भएयताकै ठूलो प्रदर्शन रहेको बीबीसीको खबरमा उल्लेख छ ।

यसैबीच मुखौटा लगाएका हमास लडाकूहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरेका छन् । केही लडाकूहरूको हातमा हतियार पनि रहेको र उनीहरूले प्रदर्शनकारीहरूलाई कुटपिटसमेत गरेका बीबीसीले जनाएको छ । हमास समर्थकहरूले भने प्रदर्शनकारीहरू देशद्रोही रहेका आरोप लगाएका छन् । हमासले प्रदर्शनबारे आधिकारिक प्रतिक्रिया दिएको छैन ।

झन्डै दुई महिनाको युद्धविरामपछि इजरायलले गाजामा आफ्नो सैन्य अभियान पुनः शुरू गरेको छ । युद्धविराम बढाउने नयाँ अमेरिकी प्रस्तावलाई हमासले अस्वीकार गरेको इजरायलको आरोप छ । हमासले भने इजरायललाई जनवरीमा सहमत भएको मूल सम्झौता त्यागेको आरोप लगाएको छ । मार्च १८ मा हवाई आक्रमणसहित इजरायली सैन्य कारबाही पुनः शुरू भएदेखि सयौं प्यालेस्टिनीहरू मारिएका छन् भने हजारौं विस्थापित भएका छन् ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायमा आक्रमण गर्दा एक हजार दुई सय जनाको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । यो आक्रमणपछि इजरायलले गाजामा शुरू गरेको कारबाहीमा अहिलेसम्म ५० हजार जनाभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका