
काठमाडौं, संविधानले नेपाल धर्मनिरपेक्ष राज्य हुने भनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएको छ । राप्रपाका नेता, सांसद, मन्त्रीले हिन्दु धर्म र हिन्दु राज्यबारे आफ्ना मत जाहेर गर्ने गरेका छन् । यसै विषयलाई लिएर सदनमा सत्तारूढ दलहरूबीच विवाद सिर्जना भएको छ ।
सरकारमा सहभागी दुई प्रमुख दल नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले राप्रपालाई लक्षित गरेर सरकारकै मन्त्रीहरूले संविधानविपरीत अभिव्यक्ति दिएको र हिन्दु धर्मको पक्षपोषण गर्न थालेको भन्दै सदनमा प्रश्न उठाए ।
सत्ता गठबन्धनकै अर्को दल राप्रपाका सांसदहरूले त्यसको प्रतिवाद गरे । धर्मका विषयमा सत्तारूढ दलका सांसदहरूबीच नै जुहारी चल्नु अस्वाभाविक देखिएको छ ।
बुधबारको संसद् बैठकमा राप्रपाका मन्त्रीले हिन्दु धर्मको विषयमा कुरा उठाउन थालेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका थिए ।
सरकारकै मन्त्रीले हिन्दु राज्यको माग गर्दै आएको विषय गम्भीर भएको ती दुई पार्टीका सांसदहरूले तर्क गरे । एमालेका नेता रघुजी पन्तले सरकारका मन्त्रीले संविधानविपरीत वक्तव्य दिन थालेकाले प्रधानमन्त्री र मन्त्रीबीचको मत बाझिएको बताए ।
कानुनमन्त्री ध्रुवबहादुर प्रधानले संविधानविपरीत दिएको अभिव्यक्तिपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गत माघ १० गते राष्ट्रियसभा बैठकमा स्पष्टीकरण लिने भनी सचेत गराए पनि सहरी विकासमन्त्री विक्रम पाण्डेको त्यस्तै अभिव्यक्ति आएको उनले बताए ।
‘आधारभूत संरचनाबारे प्रधानमन्त्री र मन्त्रीहरूको धारणा बाझिनु संविधानको अपमान हो,’ उनले भने ।
नागरिक दैनिकबाट