जोडिनुहोस
  • होमपेज
  • यि हुन् २०७८ का चर्चित १२ अपराध र घटना

यि हुन् २०७८ का चर्चित १२ अपराध र घटना

पुष्कर खतिवडा
२०७८ को शुरवाती महिना कोरोना संक्रमणको भयावह अवस्थाबाट गुज्रियो । दैनिक थपिने हजारांै संख्यामा संक्रमित, अस्पतालमा बेडको अभाव, अक्सिजन लगायत औषधीको चरम अभावमा २०७८ का शुरुवाती महिना बिते । त्यसपछि क्रमशः कोरोनाको संक्रमण घट्यो । यता राजनिति उतारचढावले पनि २०७८ चर्चामा रह्यो । यो बर्ष पनि अपराधका कैयौं घटना भए । समग्रमा बर्ष २०७८ मा घटेका प्रमुख १२ घटना यस्ता छन् ।

घटना १: कोरोना संक्रमणको भयावह अवस्था
२०७८ बैशाखदेखि नेपालमा दोश्रो लहरको कोरोना भाइरसको संक्रमण भयावह बनेको थियो । देशभरका अस्पतालमा बेडको अभाव थियो । अस्पताल पुगेर पनि कोरोना संक्रमितले उपचार पाउँदैन थिए । अक्सिजनको त झन् हाहाकार नै थियो । देशभरका चिकित्सकले उपचार धान्न नसकेको भन्दै दिनँहु सरकारसंग गुहार माग्थे । सरकारले समेत स्वास्थ्य प्रणालीले धान्नै नसक्ने गरी संक्रमण बढेको भन्दै आत्मसर्मपर्ण गरेको थियो । यस्तोमा कतिपय संक्रमितको बेड नपाएर अस्पताल चाहार्दाचाहार्दै मृत्यु भयो । दैनिक दर्जनौ बढि कोरोना संक्रमितको मृत्यु हुन्थ्यो । अवस्था कतिसम्म भयानक थियो भने पशुपती आर्यघाटमा लाश जलाउने समेत ठाउँ थिएन । संक्रमणको जोखिम घटाउन सरकारले देशभर निषेधाज्ञा र लकडाउन घोषणा गरेको थियो । देशभरका विद्यालय बन्द थिए । भारत लगायतका विदेशबाट फर्किनेले नाकामा सास्ती भोग्नुपथ्र्याे । खोप केन्द्रमा भिड हुन्थ्यो । अस्पतालमा जनशक्तिको अभाव थियो । लकडाउनका कारण बेरोजगार बनेकाहरुले खान पाउदैन थिए ।

घटना २: मेलम्चीमा बाढि, हेलिकप्टरबाट उद्धार
अविरल वर्षापछिको असार १ गते आएको भयानक बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा व्यापक क्षति गर्याे । इन्द्रवती नदीमा आएको बाढीले बजारका अधिकांश घरहरु डुबाएको थियो । घर, सडक तथा पुल बगाएर मेलम्ची क्षेत्र यातायात र सञ्चारविहिन बनेको थियो । बाढिमा फसेकाहरुको नेपाली सेना लगायतले हेलिकप्टरबाट उद्धार गरेका थिए । मानिसहरु रातरात घरबाट भाग्नुपर्याे । धेरैले सामान जोगाउन पाएनन् । यस बाढिमा आधा दर्जन बढिको मृत्यु भयो भने ५ सय बढि विस्थापित बनेका थिए ।

घटना ३: सन्तोषी सुब्बाको हत्या प्रकरण
विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको असार ६ गते साँझ हत्या भएको थियो । सन्तोषीको हत्यामा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना संलग्न रहेको पाइएको थियो । गाडीका सहचालक तिमल्सिनालाई दक्षिणकाली पुगेकी सन्तोषीले सुरेशसँग खान र बस्न समस्या भएको बताएपछि त्यसको व्यवस्था मिलाइदिन्छु भन्दै सन्तोषीलाई दक्षिणकाली मन्दिर नजिकैको जंगलमा पुर्याए र जरबरजस्ती गर्न खोजे । सन्तोषीले प्रतिकार गरेपछि तिमल्सिनाले उनको हत्या गरेका थिए । सुरेशले सन्तोषीकै सल उनको घाँटीमा बेरी घाँटी थिचि हत्या गरेका थिए । तिम्सिनाले हत्या पश्चात पनि सन्तोषीको अनुहारमा पटकपटक ढुंगाले प्रहार गरेका थिए । सन्तोषी विभिन्न जनावरहरूको दुरुस्तै आवाज निकालेर युट्युबमा चर्चामा थिइन् ।

घटना ४: नाबालक छोराकी १९ बर्षे आमालाई ४ दिनसम्म ट्रकमा बन्धक बनाइ ४ जनाद्वारा बलात्कार
असार २७ गते बिहान, रुकुम घर भएकी १९ वर्षीया महिला २ वर्षिय छोरासहित बुटवल जान काठमाडौंको कलंकी चोकमा निस्किइन् । पुर्ण रुपले निषेधाज्ञा नखुलेका कारण सडकमा पर्याप्त सार्वजनिक सवारी चलेका थिएनन् । सोही बखत वीरगञ्ज–२१ बस्ने बर्ष २७ का ना. ५ ख. २८७० नम्बरको ट्रक चालक सुनील महतोले उनलाई नारायणगढसम्म पु¥याइ दिने भन्दै लिफ्ट दिए । सो दिन पहिरोका कारण चितवनको बाटोमा सवारीको जाम थियो । जाममा गाडी रोकिएको अवस्थामा महतोले ट्रकको क्याबिनभित्रै नाबालक छोराकै सामुन्नेमा ती महिलालाई पटक पटक २ दिनसम्म बलात्कार गरे । असार २९ मा जाम खुलेपछि सुनिलेले अर्का ट्रक चालक शिवबालक महतोलाई ति महिला जिम्मा लगाए । शिवबालकले पनि ति महिलालाई २९ गते रातभर बन्धक बनाइ बलात्कार गरे । फेरी असार ३० गते शिबबालकले आफ्ना ट्रकका सहचाकल इन्दल महतोलाई ति महिला जिम्मा दिए । इन्दल र ट्रकमा पहिलादेखि सवार भई आएका अर्काे ४० वर्षिय ब्यक्तिले समेत पीडितलाई पूनः बिचमा सडकमा ट्रक भित्र पालैपालो बलात्कार गरे । यसरी २ बर्षे नाबालक छोरोसहित बुटबल जान काठमाडौंबाट भनेर हिडेकी १९ बर्षिया ति महिला ४ दिन लगातार ४ द्धारा बलत्कारको शिकार भइन् । पछि गस्तीमा निस्किएको प्रहरीले उनको बिच जंगलबाट उद्धार गरी पिडकलाई पक्राउ गरेको थियो ।

घटना ५: निर्मला पन्तको हत्यारा पत्ता लागेन
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको २०७८ मा हत्यारा पत्ता लागेन । २०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएपछि निर्मलाको शव भोलिपल्ट साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो । तर विडम्बना, घटनाको करीब ४ बर्ष बित्न लाग्दा समेत अझैसम्म हत्यारा पत्ता लागेको छैन ।

घटना ६: ९ करोडको कोकिनसहित ३ जना पक्राउ
प्रहरीले २ किलो ९ सय ६६ ग्राम कोकिनसहित पक्राउ परेका ३ जनालाई भदौं १३ गते सार्वजनिक गरेको थियो । कोकिनसहित पक्राउ परेका ३ जना फरक–फरक मुलुकका हुन् । भदौ ३ गते कतार एयरवेजको विमानबाट नेपाल आएकी ३० वर्षीया दक्षिण अफ्रिकी नागरिक शिर्ले गामा जोहानेसबर्गबाट केपटाउन, दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी थिइन् । उनले सुटकेसमा कोकिन लुकाएर ल्याएकी थिइन् । तर विमानस्थलका प्रहरीले त्यो कुरा थाहा नपाउदाँ उनी सजिलै विमानस्थलबाट बाहिरिइन् र कमलादीस्थित एक होटलमा पुगिन् । ठूलो मात्रामा लागुऔषध ल्याएको हुनसक्ने आशंकापछि ब्यूरोले अपरेशन कोक सेकेन्ड अघि बढायो र निगरानी थाल्यो । लगातारको निगरानीपछि नेपाल आएकै रात ११ बजे गामा होटलबाटै पक्राउ परेकि थिइन् । गामा पक्राउ परेपछि प्रहरीले अनुसन्धान अघि बढाउँदा भदौ ८ गते कोकिन लिन नेपाल आएका भारतीय नागरीक ३३ वर्षीय विजय सिंहलाई पक्राउ ग¥यो । यी २ कारोबारीको भेटघाटको चाँजो मिलाउने तान्जेनियाकी नागरीक २६ वर्षीया गेर्ट्रुडे लियोनार्ड किमारोलाई पनि प्रहरीले सिन्धुलीको खुर्कोटबाट भदौ ९ गते पक्राउ गरेको थियो ।

घटना ७: विमानभित्र यात्रुको रुवाबासी
असोज ११ गते काठमाडौंबाट उडेको बुद्ध एयरको विमान विराटनगरमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको थियो । चालक दलका ४ सदस्यसहित ७७ जना बोकेर उडेको विमान काठमाडौंमा आएपछि पनि करिब ३० मिनेट आकाशमा १० फन्को लगाउँदै होल्ड भयो । विमानको ल्यान्डिङ गेयरमा समस्या हुदाँ विमान भित्र यात्रुहरुबीच रुवाबासी चलेको थियो । सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए । अन्ततः विमानको ल्यान्डिङ गेयरले काम गरेपछि जोखिमका बीच सफल अवतरण भएको थियो । अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।

घटना ८: ‘बतास’ समुह प्रकरण
नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट बनाउने विषयले बर्ष २०७८ मा सबैभन्दा बढि चर्चा पायो । एक वर्षअगाडि गैरकानुनी रूपमा नारायणहिटी प्रवेश गरेको बतासले राजा महेन्द्रको पालामा बनाइएको बंकर पनि कब्जामा लिएर बार समेत बनाइरहेको थियो । हाल भने बतास समुह पछि हटेको छ । नारायणहिटी प्रकरणमा विवादमा तानिएको बतासले मनोमानी ढंगबाट पशुपति क्षेत्र विकास कोष मातहतको धर्मशालालाई समेत निजी प्रयोग गरेको प्रकरणले पनि २०७८ मा राम्रै चर्चा पायो । पशुपती धर्मशालाको प्रकरण अझै सुल्झेको छैन । बतासले तनँहुको मानहँकोट, पोखराको सेती नदि, पाटनको दरबार, गण्डकी संग्रहालय, तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र, पाटन दरबार क्षेत्रका पसल, पोखराको प्रदेश संग्रहालय भवनमा हात हालेको थियो । तर ति सबै विवादित रहे ।

घटना ९: एमसीसीविरुद्धको प्रर्दशन
एमसीसीविरुद्ध नेपालमा लामो संर्घष भयो । संसदमा सम्झौता टेबल भएदेखि संसद भवनभित्र र देशभरका विभिन्न स्थानमा प्रर्दशन भयो । एमसीसीकै कारण काठमाडौं केहि साता तनावपूर्ण बन्यो । एमसीसीको विरोधमा उत्रिएका प्रर्दशनकारीहरुले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा दिनहुँ प्रर्दशन गर्थे । त्यसक्रममा प्रहरीले प्रर्दशनकारीमाथी पानीको फोहोरा, अश्रुग्यास प्रहार गर्याे । यस्तै प्रर्दशनलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्याे भने रबरको गोली समेत चलाएको थियो । तर अन्ततः एमसीसी पास भयो ।

घटना १०: पल शाह पुर्पक्षका लागी थुनामा
नाबालिग गायिका माथि जबरजस्ती करणीको आरोपमा पक्राउ परेका चर्चित अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । २०७८ को चर्चित घटना मध्ये एक पल शाह प्रकरण अझैसम्म चर्चाको बिषय बनेको छ । नाबालिका गायिकामाथि बलात्कार गरेको अभियोग लागेका शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो । यसअघि पूर्वी नवलपरासीमा पनि उनीविरुद्ध यस्तै मुद्दा परेको थियो । पीडित बालिकाले आफूसँग विवाह गर्छु भन्दै शाहले पटक पटक करणी गरेको अभियोग छ । तर, शाहले भने आफूमाथि लागेको बलात्कार आरोप स्वीकारेका छैनन् । उनले प्रहरीसमक्ष दिएको बयानमा झुटा उजुरी दिएर फसाउन खोजीको दाबी गरेका छन् ।

घटना ११: खोप हराएको प्रकरण
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ओली सरकारको पालामा ५ हजार तिरेर आफुले कोरोनाविरुद्धको खोप लगाएको दाबी गरेपछि यो प्रकरणले पनि २०७८ मा राम्रै चर्चा पायो । सरकारले खोपको विवरण सार्वजनिक गर्दा २४ लाख खोप तथ्यांकमा देखिएको थिएन । यहि बिषयलाई आधार बनाइ मन्त्री खतिवडाविरुद्ध नेकपा एमालेका भातृ संगठनले २४ लाख खोपको हिसाबकिताब मागेका थिए । तर खतिवडाले भने तत्कालीन ओली सरकारको पालामा छिमेकी मुलुकसहित विभिन्न दातृ राष्ट्रबाट आएको अनुदानको निशुल्क खोपलाई आफूले ५ हजार तिरेर लगाएको दाबी गरेका थिए ।

घटना १२: मोरङका २ घटना
मोरङमा डेढ बर्षिया बालिकाको बलात्कारपछि हत्या भएको प्रकरणले देशभर चर्चा पायो । मोरङ सुन्दरहरैँचा–७ की १८ महिने बालिका, गुप्तांगमा रगताम्मे अवस्थामा मृत फेला परेकि थिइन् । प्रहरीले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको थियो । अघिल्लै दिन साँझबाट हराएकी बालिका भोलीपल्ट घर नजिकैको झाडिमा वेहोस अवस्थामा भेटिएकि थिइन् । बालिकाको उपचारका क्रममा मृत्यु भएको थियो । पछि प्रहरीले घटनामा संलग्न दुइ जनालाई पक्राउ गरी जेल चलान गरेको छ । यस्तै चैतमा मोरङकै लेटाङमा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो । लेटाङ–५ को शिक्षा विकास माविकी १४ वर्षीया छात्रालाई शिक्षकले दुव्र्यवहार गरेको भन्दै सिर्जित तनावमा झडप हुँदा घटना नियन्त्रण गर्न प्रहरी टोली पुगेको थियो । होली खेल्ने क्रममा १४ बर्षिया छात्रालाई शिक्षक मनोज पौडेलले दुव्र्यवहार गरेको आरोप लागेको थियो । घटनाबारे बुझ्न प्रहरी पुगेपछि आक्रोशित भीडले शिक्षकलाई आक्रमण गर्न खोजेका थिए । प्रहरीले शिक्षकलाई आक्रमण हुनबाट जोगाएको थियो । त्यसपछि झनै आक्रोशित बनेको भीड मध्येका कसैले जवान श्रेष्ठमाथि घाँटीमा धारिलो हतियार प्रहार गरेको थियो । त्यसपछि रक्ताम्य भएकी उनी गम्भीर घाइते भएकी थिइन् । श्रेष्ठको अस्पताल लाँदालादैं मृत्यु भएको थियो ।

यी नै १२ घटनाहरु बर्ष २०७८ मा सबैभन्दा बढि चर्चित रहे ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका