आइतबार पाकिस्तानमा दुई छुट्टा छुट्टै सडक दुर्घटनामा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । पाकिस्तानको दक्षिण–पश्चिममा एउटा बस खाडलमा खस्दा आगलागी भएको थियो । उक्त दुर्घटनामा ४१ को मृत्यु भएको छ । यस्तै, उत्तर–पश्चिममा एउटा डुङ्गा दुर्घटनामा १० बालबालिकाको डुबेर मृत्यु भएको छ ।
पोखरीमा डुबेर मृत्यु हुनेहरु ७ देखि १४ वर्षका थिए । बस दुर्घटना स्थलमा स्थानीय अधिकारीले शवलाई चिन्न मुश्किल भइरहेको जानकारी दिएका छन् । उक्त दुर्घटना बोलोचिस्तान प्रान्तस्थित बेला शहर नजिकै भएको हो । बस कराँचीको पोर्ट सिटी जाँदै थियो ।
स्थानीय अधिकारी हुम्जा अन्जुमले एएफपी समाचार एजेन्सीसँगको कुराकानीमा ४० जनाको शव बरामद गरिएको जानकारी दिए । उनका अनुसार तीनजना घाइतेको उद्दार गरिएको थियो जसमध्ये एकजनाको केही समय पछि नै निधन भएको र अन्य दुईको अवस्था गम्भीर छ ।
दुर्घटना हुनु अघि उक्त बसले पुलको पिलरलाई हानेको बताइन्छ । ‘दुर्घटनाको कारणबारे हामी अनुसन्धान गर्नेछौँ, ’ अन्जुमले भने, ‘शवको पहिचानका लागि डिएनए परीक्षण गरिनेछ ।’
स्थानीय प्रहरी अधिकारी मिर रउफले एएफपीसँगको कुराकानीमा भने, ‘मृत्यु भएका १० जनाका साथै ११ बालबालिकालाई उद्धार गरिएको छ जसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।’ अन्य ९ जना बेपत्ता भएको अनुमान गरिएको छ ।