काठमाडौ । बैंकहरूले अल्पकालीन सापटी लिन छाडेका छन् । बैंकमा रकम नहुँदा अत्यधिक प्रयोग हुने अल्पकालीन सापटी भनेर चिनिने एसएलएफ अर्थात स्थायी तरलता सुविधा झण्डै एक महिनायता नलिएको पाइएको छ ।
पछिल्लो समय तरलताको (लगानी योग्य रकम) अभावका कारण बैंकहरूले दैनिकरूपमा राष्ट्र बैंकबाट उच्च दरमा स्थायी तरलता सुविधा (एसएलएफ) लिएर तरलता व्यवस्थापन गरिरहेका थिए । झण्डै एक महिनायता यस्तो सुविधा बैंकहरूले नलिनुमा बैंकहरू केही सहज अवस्थामा पुगेको देखिन्छ ।
नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले पछिल्लो समय बैंकहरूले एसएलएफ प्रयोग नगरेको बताए । बैंकहरूले सापटी नलिनुले तरलताको अवस्थामा केही सुधार भएको संकेत हो, भण्डारीले नेपाल प्रेससँग भने ।
पछिल्लो पटक पुस २९ गते बैंकहरूले ६ करोड रुपैयाँ अल्पकालीन सापटी केन्द्रीय बैंकबाट लिएको तथ्यांक राष्ट्र बैंकसँग छ । त्यसयता माघ २२ सम्म कुनै पनि सापटी लिएको देखिँदैन ।
नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधाका रूपमा बैंकहरूलाई सात दिनका लागि यस्तो सुविधा उपलब्ध गराउँछ । चालू आर्थिक वर्ष (२०७९÷८०) को पुस २९ गतेसम्म बैंकहरुले २६ खर्ब ९२ अर्ब ८२ करोड रूपैयाँ एसएसलएफ प्रयोग गरेको केन्द्रीय बैंकले जनाएको छ ।
पुसमा १२ पटक एसएलएफको कारोबार देखिन्छ । मंसिरअगाडि भने दिनहुँजसो एसएलएफ प्रयोग भएको थियो । चालू आर्थिक वर्ष सबैभन्दा धेरै असोज १४ गते ७१ अर्ब ४ करोड ७० लाख बैंकहरूले सापटी लिएका थिए । भदौ २३ गते ७२ अर्ब ७६ करोड १५ लाख सापटी लिएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रमा गरेको लगानीको ९० प्रतिशतसम्म एसएलएफ लिन पाउने प्रावधान छ ।
अन्तर बैंक ब्याजदर पनि घट्यो
तरलताको चरम अभाव हुँदा बढी ब्याजदर दिएर समेत एक बैंकले अर्को बैंकबाट सापटी लिँदै आएकोमा अहिले भने सोको ब्याजदरसमेत घटेको छ । अहिले अन्तरबैंक ब्याजदर औसत ४.१६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकहरूसँग रकम नहुँदा साढे ८ प्रतिशतसम्म ब्याज दिएर बैंकहरूले कारोबार गरेका थिए । यता ट्रेजरी बिलको ब्याजदरपनि घटेको छ ।
२८ दिने ट्रेजरीमा औसतमा ५ प्रतिशत, ९१ दिने ट्रेजरीको ९.१८ प्रतिशत, १८२ दिनको र ३६४ दिनको ट्रेजरीको औसत ब्याजदर १० प्रतिशत रहेको छ । कुनै बेला यसको ब्याजदर १२ प्रतिशतसम्म पुगेको थियो ।
यसले पछिल्लो समय अल्पकालीन ऋणको ब्याजदर निरन्तर घट्न थालेका देखाउँछ ।
अहिले बैंक तथा वित्तीय संस्थामा ५३ अर्ब ५१ अर्ब रूपैयाँ निक्षेप पुगेको छ । यस्तै कर्जा लगानी ४८ खर्ब १६ अर्ब रूपैयाँ पुगेको केन्द्रीय बैंकको तथ्यांक छ । निक्षेप र कर्जातर्फ बाणिज्य बैंकहरूको ठूलो हिस्सा रहेको छ ।