काठमाडौं । आज स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरिएको छ । स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले देशमा धेरै राजनीतिक परिवर्तन भए पनि दूरदराजका गरिब जनताले अझै पनि सर्बसुलभ ढंगले स्वास्थ्य सेवा नपाइरहेको बताए ।
‘नेपालको स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन ढिलो भइसकेको छ । गरिब जनताले सुलभ ढंगले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवस्था आजको दिनमा पनि छैन,’ उनले भने ।
उनले स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउँछौं भनेर सबैले आ–आफ्नो ठाउँबाट अठोट गरेमा मात्रै स्वास्थ्य सेवा दिवस मनाउनुको सार्थकता रहने बताए ।