काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ४-२ गोल अन्तरले हराएको हो ।
खेलको १२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा जोएन हड्जमले आत्मघाती गोल गरेपछि पीएसजी २-० ले अघि रह्यो ।
खेलको ३१ औं मिनेटमा लुडोभिच ब्लासले गोल गर्दै नान्टेसलाई २-१ को स्थितिमा ल्याए । ३८ औं मिनेटमा इग्नाटिउस गनागोले गोल गर्दै नान्टेसलाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको ६० औं मिनेटमा डानिलो परेराले गोल गर्दै पीएसजीलाई ३-२ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४-२ को जित दिलाए ।
यस गोलसँगै एमबाप्पे पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । एमबाप्पेले पीएसजीका लागि २०१ गोल पूरा गर्दै एडिन्सन काभानीको कीर्तिमान भङ्ग गरेका हुन् ।
एमबाप्पेले २ सय ४७ खेलमा २०१ गोल पूरा गरेका हुन् । यस जितसँगै पीएसजीले २६ खेलमा ६३ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा कायम रहेको छ । नान्टेस २८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।