काठमाडौं । आज काठमाडौं उपत्यकाको साथसाथै हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदैछ । विभिन्न रङहरुसँग खेलिने होली तराईमा भने भोलिपल्टमात्रै मनाइने गरेको छ ।
असत्यमाथि सत्यको जीत र हर्षोल्लासको रुपमा मनाइने यस पर्वलाई रङहरुको पर्व पनि भन्ने गरिन्छ । सद्भाव र खुशी बाँडिने यस पर्वले भाइचारालाई पनि बलियो बनाउने गर्छ । युवायुवती, किशोरकिशोरी खुलेर रङ छ्यापाछ्याप गर्दै होलीको उत्सव मनाउँछन् । वसन्त ऋतुको उमंंगमा मनाइने यो पर्व विभिन्न स्थान र परिवेश विशेषमा फरक फरक नाम र तरिकाले मनाउने गरिन्छ ।
किंवदन्तीअनुसार त्रेता युगमा दैत्यराज हिरण्य कश्यपुले आफ्नो विष्णुभक्त पुत्र प्रल्हादलाई मार्ने नियत बनाउँछन् । किनभने प्रल्हाद विष्णुका भक्त थिए । उनी विष्णुकै नाम जपिरहन्थे । त्यसैले छोराबाट अत्यत्नै क्रोधित कश्यपुले छोरालाई यातना दिन थाले र मार्ने षड्यन्त्र रच्न थाले ।
त्यसका लागि ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाए । तर, प्रचण्ड अग्निज्वालाले होलिकालाई जलायो, प्रल्हादलाई भने केही भएन । त्यसैले सत्यको सधैं जीत हुन्छ भनेर होली मनाउने गरिन्छ । दुष्कर्मको फल होलिकालाई मिलेका सत्यको सम्मानस्वरुप रङहरु खेलेर होली मनाउने गरिन्छ ।
अर्कातिर शास्त्रीय मान्यताअनुसार द्वापरयुगमा मथुराको कारागारमा जन्मेका शिशु कृष्णलाई गोकुल पुर्याइएको थियो । तर, मामा कंशले कृष्णलाई मार्न पुतना नाम गरेकी रक्षसनीलाई गोकुल पठायो । पुतनाले आफ्नो स्तनमा विष मिसाएर कृष्णलाई पिलाउन थाली । तर, शक्तिशाली कृष्णले पुतनाको प्राण नै चुसिदिए ।
अनि गोकुलवासीले खुशीयाली मनाउँदै अबिरजात्रा गरे । रङैरङले गोकुल रंगियो । त्यहीबाट पनि होली मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ ।
होलीलाई शास्त्रीय पर्वको रुपमा संस्कृतिविद्हरुले लिने गर्छन् । होलीलाई वसन्तोत्सव र मदनोत्सव पनि भन्ने चलन छ ।
संस्कृतिविद्हरुका अनुसार फागुन शुक्ल अष्टमीका दिनदेखि पूर्णिमासम्म होली मनाउने चलन छ । उपत्यकाको वसन्तपुरमा शुक्ल अष्टमीका दिन चीरोत्थान गरेपछि काठमाडौंंमा होली सुरु हुन्छ । पूर्णिमाका दिन उक्त चीरलाई विधिपूर्वक ढालेर बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउने चलन छ ।
साथै चीरमा राखिएका ध्वजापताकाहरु औषधोपचारको लागि काम लाग्ने विश्वास स्थानीयको छ । त्यसैले चीरको खरानी लुछाचुँडी गर्दै अनिष्ट टार्न टीका लगाउन भीडमभीड हुने गर्छ ।
टुँडिखेलमा गुरुमापा नामका राक्षस रहेको जनविश्वास छ । उक्त राक्षसलाई इटुम्बहालदेखि कतै पनि नबिसाइ ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाएर सैनिक अस्पतालमा रहेको जधु नामक धारामा चुठाउने चलन पनि काठमाडौंका नेपालभाषीहरुमा रहेको पाइन्छ ।
हिमाली भेगका थकाली समुदायमा तोरन ल्ह पर्व पनि फागुन पूर्णिमाकै दिन मनाउने गरिन्छ । काठमाडैंमा भने यही दिन भीमसेनको पूजा गर्ने चलन पनि छ ।
तराईमा भने भोलि होली मनाइन्छ । फागु पुर्णिमाको दिन विशेष मेला र जात्रा लाग्ने भएकाले त्यसको भोलिपल्ट होली मनाइने जानकारहरु बताउँछन् ।