काठमाडौँ– टेलिकम सेवा प्रदायक कम्पनी स्मार्ट सेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर तिर्न आलटाल गरेको छ । यस्तै, सेवाग्राहीलाई कुनै सुचना नै नदिई सेवा अवरोध पनि गरेको छ ।
कम्पनीले हालसम्म २७ अर्ब रुपैयाँ तिनुपर्ने छ । स्मार्ट टेलिकमले लाइसेन्स नवीकरण, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, जरिवाना लगायतको शुल्क गरी सरकारलाई २७ अर्ब रुपैयाँ तिर्नुपर्ने छ । यही चैत मसान्तसम्म लाइसेन्स अवधि रहेको कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई पुरानो बक्यौताबापत मात्रै ६ अर्ब बढी तिर्नुपर्ने छ ।
तर, कम्पनीले समयावधि सकिन लाग्दासमेत रकम तिर्नेबारे कुनै चासो नदेखाएको प्राधिकरण स्रोतको भनाइ छ । स्मार्टबाट राज्यले लिनुपर्ने सम्पूर्ण रकम असुल उपर गर्नुको साटो कानुनी छिद्रबाट उन्मुक्ति दिन सरकारका केही अधिकारी तथा शक्ति केन्द्र लागेको स्रोतको दाबी छ ।
स्मार्ट टेलिकममा लालसाहु होल्डिङको ५० प्रतिशत, कोस्भो इन्भेष्टमेन्टको ३० प्रतिशत र स्क्वायर नेटवर्क प्रालिको २० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
यसैबिच, लाइसेन्स नवीकरण गर्न आलटाल गरिरहेको स्मार्ट टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेकओभर’ गर्ने तयारी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कम्पनीले लाइसेन्स नवीकरण गर्ने संकेत नदेखाएकाले प्राधिकरणले टेकओभर गर्ने तयारी गरेको हो । चैत मसान्तसम्म बेलासम्म बक्यौता रकम तिरेर लाइसेन्स नवीकरण नगरेको खण्डमा टेकओभर गर्ने तयारी प्राधिकरणले गरेको स्रोतको भनाइ छ ।
स्मार्ट टेलिकमको लाइसेन्स खारेजी भए कम्पनीमा ऋण लगानी गरेका बैंकहरूको करोडौँ रुपैयाँ लगानीसमेत जोखिममा पर्ने देखिएको छ । कम्पनीको वित्तीय विवरणअनुसार उसले विभिन्न बैंकबाट करिब दुई अर्ब ऋण लिएको छ ।
कम्पनीले २३ लाखभन्दा बढी ग्राहक रहेको दाबी गर्दै आएको छ । तर, स्मार्ट सेलले अघोषित रूपमा देशका विभिन्न ठाउँमा आफ्नो सेवा बन्द गरेको छ । कम्पनीले आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि स्मार्ट टेलिकमका ग्राहकले सेवा बन्द भएको र गरिएको रिचार्ज रकमसमेत उपयोग गर्न नपाइएको उपभोक्ताको गुनासो छ । विगत केही दिनदेखि देशका विभिन्न स्थानमा नियामक निकाय र ग्राहकलाई पूर्वजानकारी नदिई सेवा बन्द गरिएको छ ।
यता, बिना जानकारी सेवा बन्द भएको भन्दै उपभोक्ता आक्रोशित बनेका छन् । अचानक सेवा बन्द हुँदा मोबाइल नम्बरमा रहेको ब्यालेन्स रकमसमेत उपयोग गर्न नपाएको भन्दै आफूहरूको उपभोक्ता अधिकार खोसिएको उपभोक्ताको गुनासो छ ।